कोभिड-१९ ले मानव समुदायलाई सिकाएको पाठ

कोभिड-१९ ले मानव समुदायलाई सिकाएको पाठ

केन्द्रबिन्दु
0
Shares

चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ मा सुरु भएको महामारी रोग कोभिड-१९ लाई २०२० को प्रारम्भमा WHO ले एक किसिमको नयाँ कोरोना भाइरस (SARS-CoV-2) भनि पहिचान गर्‍यो।

कोभिड-१९ ले श्वासप्रश्वास नलिमा संक्रमण गर्न सक्छ जुन हल्कादेखि घातक हुन सक्छ। यो Middle East respiratory syndrome (MERS) र sudden acute respiratory syndrome (SARS) जस्तै एउटा रोग हो तर यो स्वस्थ मानिसमा पनि घातक बन्न सक्छ। अरु कोरोना भाइरस जस्तै ब्यक्तिगत सम्पर्कबाट सर्ने यो रोग आज द्रुतगतिमा संसारभर फैलिएको छ। जसको फलस्वरुप यसका उत्परिवर्तीहरु जस्तै बि.१.६१७.२ (भारत), बि.१.१.७ (युके), बि.१.३५१ (दक्षिण अफ्रिका), पि.१ (ब्राजिल) आदि देखा परिसकेका छन्। यिनीहरुले  थुप्रै कोभिड लहरहरु निम्त्याएर ठूलो जनधनको क्षति गरिरहेका छन्।   

कोभिड-१९ को स्थायी व्यवस्थापनका धेरै प्रश्नहरु जस्तै कोभिड र यसका उत्परिवर्तीहरुको रोकथाममा प्रभावकारिता, यसको प्रसारण र सुरक्षा आदिको ठोस उत्तर हामीसँग अहिले छैन। त्यसैले अहिलेको परिस्थितीमा सिडिसिWHO जस्ता संगठनहरुको दिशानिर्देशनहरु जस्तै कोभिडको खोप लिने, खोप लिइसकेपछि पनि बारम्बार हात धुने, ६ फिटको दुरी कायम राख्ने, हुलमुल नगर्ने वा हुलमुलमा नजाने, मास्क लगाउने जस्ता कुराको अवलम्बन गर्नु नै बुद्धिमानी देखिन्छ। भारत, नेपाल लगायत अरु देशमा देखिएको दोस्रो कोभिडको लहर यी दिशानिर्देशनहरुको पालना नहुनुको उपज हो। 

कोभिडको छोटो समयमै एकपछि अर्को खोपहरु देखापरे वा देखा पर्दैछन्। यो अविश्वसनीय उपलब्धिले मानव जातिलाई अवस्य आधुनिकरणको चुलीमा पुगेको गर्व गराउँछ। तर कोभिड जस्तो महमारीले हामी प्रबल प्रकृतिको अगाडि कति नित्थ छौं भन्ने आवास पनि दिन्छ। 

अष्ट्रेलिया र न्यूजिल्यान्ड जस्ता देशहरुले सरकारी अध्यादेश जारी गरि प्रारम्भमा कोभिडलाई नियन्त्रणमा राखेर प्रशंसनिय उदाहरण दिए। तर  एकअर्कामा जगडिएको  अर्थव्यवस्थाका कारण लामो समयसम्म अरु देशहरुसँग अलग हुनु सम्भव देखिंदैन। शायद त्यही कारण हुनसक्छ अहिले ती देशहरुमा ४ प्रतिशतभन्दा कम जनताले कोभिडको खोप पाएका छन्। जबकी कोभिड नियन्त्रणमा असफल  मानिएका अमेरिका र युके खोपको कुरामा अग्रपंक्तीमा देखिन्छन् र बथान प्रतिरक्षाबाट कोभिड-१९ को  नियन्त्रण गर्नका लागि जोडदार लागि परेका छन्। 

अहिलेको यस्तो महामारिमा बथान प्रतिरक्षाका लागि ७०-८० प्रतिशत जनसंख्याले खोप लगाउनु पर्ने स्थिति छ। तर Duke Global Health Innovation Center को आँकडा अनुसार धनी देशहरु खोपहरु संकलन गरिरखेका छन्। अझै विद्यमान असमानताका कारण गरिब मुलुकहरुमा २०२३-०२४ सम्ममा पनि बथान प्रतिरक्षा सम्भव देखिँदैन। WHO को पहलमा निष्पक्ष र न्यायसंगत COVAX खोप वितरण सुरु भएपनि यो त्यति प्रभावकारी हुन सकेको छैन।

कोभिड-१९ रोगले धनी-गरिब, श्वेत-गैरस्वेत वर्णमा विभेद गरेको देखिँदैन। त्यसैले यसको व्यापक खोप अभियानबिना हामी कोही पनि सुरक्षित छैनौं भन्ने कुरालाई हामीले बुझपचाई रहेको वा ठूलो तस्बिर देख्न नसकेको जस्तो लाग्छ।

साँच्चै भन्ने हो भने कम आय भएका देशहरु जहाँ अधिकांश जनताहरु अनौपचारिक क्षेत्र वा स्वरोजगार छन् र  बेरोजगारी बीमा छैन , त्यहाँ जिविकोपार्जनमै कठिनाई छ र लकडाउन त्यति प्रभावकारी हुन सक्दैन। त्यसैले खोपको बढी आवश्यकता त त्यहाँ बढी देखिन्छ। अमेरिका जस्ता धनी देशहरुमा त कम आय भएका जनताहरु कोभिडका कारण बढी प्रभावित देखिएका छन् भने नेपाल जस्ता गरिब देशहरुको स्थिति निकै नाजुक देखिन्छ।

यद्यपि, नेपाल जस्तो कृषिप्रधान देशहरुमा जहाँ किसानहरु प्रायः जीवन निर्वाह गर्ने हिसाबले खेतीपाती र पशुपालन गर्छन्, कोभिड जस्तो महामारीमा पनि उनीहरु सुरक्षित देखिन्छन्। यसले कृषि पेशालाई अझ कदर गर्न सिकाई कामको खोजीमा सहर पसेका युवाहरुलाई गाउँमै आधुनिक कृषि गर्न प्रोत्साहन गर्न सक्छ।

मानव सभ्यताको क्रममा देखिएका वातावरणीय खलबलहरुले भविष्यमा काेभिड-१९ जस्तै अरु धेरै रोगहरु निम्त्याउने कुरा पक्का छ। आउने दिनमा दीगोरुपमा यस्ता महामारीको सामना गर्न प्रकृतिको जगेर्ना गर्ने , प्रकृतिमैत्री जीवनशैली बिताउने, समाबेशीतामा ध्यान दिने र रोगप्रतिरोध गर्ने क्षमता बढाउनका लागि ब्यापारीकरणरहित स्वास्थ्यबर्धक खाना खाने र योगा र ध्यानकेन्द्रित क्रियाकलापहरुमा जोड गर्न सकिन्छ।

सामाजिक दुरी, आर्थिक कठिनाई र अन्य कोभिडका कारणबाट उत्पन्न हुन सक्ने मानसिक असरहरुलाई पनि यी प्राकृतिक क्रियाकलापहरुले ठूलो राहत दिन सक्छ। अहिलेको कोभिड-१९ को अन्योलको स्थितिमा भने आफू सुरक्षित रहि अरुलाई पनि सुरक्षित राख्ने कोसिस गर्न सकिन्छ।

(लेखक अमेरिकाको केश वेष्टर्न रिजर्भ विश्वविद्यालयबाट सन् २००८ मा पिएचडी गरेका हुन् । हाल उनी सोही विश्वविद्यालयमा कम्प्युटेसनल बैज्ञानिक र सहायक प्राध्यापकको रुपमा कार्यरत छन् ।)

Logo