सुदूरपश्चिमका नाकामा भीड उस्तैः १० प्रतिशतको परीक्षण,९० प्रतिशत मानिसहरू घर घरमा

सुदूरपश्चिमका नाकामा भीड उस्तैः १० प्रतिशतको परीक्षण,९० प्रतिशत मानिसहरू घर घरमा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिमस्थित सीमा नाकाहरूमा भारतबाट फर्किने नेपालीको भीड घटेको छैन। रोजगारीका लागि भारत पसेका नेपाली चैत मध्यदेखि घर फर्किने क्रम बढेको हो। पछिल्लो १५ दिनको तथ्यांकले गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सरदर १३ सय नेपाली स्वदेश फर्किरहेको देखाउँछ। 

प्रहरी तथ्यांकअनुसार समीक्षा अवधिमा १८ हजार ९ सय ३१ जना यी दुई नाका भएर घर फर्किएका छन्। यो संख्या दिनको १२ सय ६२ हुन आउँछ। वैशाख १७ देखि ३१ गतेसम्म गौरीफन्टा नाकाबाट मात्रै १४ हजार ८६ नेपाली भारतबाट फर्किएका छन्। 

कञ्चनपुरको गड्डाचौकी नाका भएर ४ हजार ८ सय ४५ नेपाली स्वदेश फर्किएका छन्।  ‘भारतमा चैत मध्यतिर कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि नेपालीहरू स्वदेश फर्किने क्रम सुरु भएको हो’, कञ्चनपुर र कैलालीको सिमानासँग जोडिएको गौरीफन्टा नाकाका हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले भने, ‘चैते दसैं र नयाँ वर्ष सुरु हुनुभन्दा केही दिनअघि त दैनिक ६–७ हजार मानिस पनि आए। तर, त्यो क्रम अहिले पनि रोकिएको छैन।’ भारतमा दैनिक साढे ३ लाखदेखि ४ लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। धेरैजसो राज्यमा लकडाउन गरिएको छ। भारतका महाराष्ट्र, राजधानी दिल्ली, बैंगलोर, उत्तर प्रदेशका ठूला सहरहरूमा लकडाउन छ। तर, नेपाल आउन चाहनेहरूका लागि भने भारत सरकारले पास दिएर गाडीहरू सीमा नाकासम्म चल्न दिएको छ। 

‘भारतका विभिन्न सहरहरूबाट दैनिक १५–२० वटा दुई तले निजी बसहरू (सुतेर आउन मिल्ने) आउँछन्। चर्को भाडामा पनि नेपालीहरू घर फर्किरहेका छन्’, हेल्थ डेस्कका इन्चार्ज साउदले भने।  नेपालमा पनि कोरोना संक्रमणदर दैनिक साढे ८ हजारभन्दा माथि छ। तर, सीमा नाकाहरूको व्यवस्थापन हुन सकेको छैन। सरकारले चैतदेखि नै नाकाहरूमा हेल्थ डेस्क राखे पनि भारतबाट फर्किनेमध्ये १० प्रतिशतको पनि एन्टिजेन परीक्षण भएन।  वैशाख दोस्रो सातासम्म पनि भारतबाट फर्केका नेपाली नजिकका बसपार्क हुँदै सोझै घर गए। जसकारण अहिले कोरोनाको संक्रमण बढेको स्वास्थ्य विज्ञ बताउँछन्।  

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी सीमा नाकाहरूको अझै व्यवस्थापन हुन नसकेको स्वीकार गर्छन्। ‘सीमा नाकाहरूमा अहिले पनि दैनिक सरदर डेढ हजार संख्यामा नेपालीहरू आइरहेका छन्। 

तर, त्यसको १० प्रतिशतको हाराहारीमा परीक्षण भइरहेको छ’, चौधरी भन्छन्, ‘अनि कसरी कोरोना नियन्त्रणमा आउँछ ?’ चौधरीका अनुसार सीमा नाका भएर फर्किने शतप्रतिशतको परीक्षण गरी पोजिटिभ भएकाहरूलाई आइसोलेसन गर्न सके मात्रै केही महिनामा महामारी नियन्त्रण गर्न सकिनेछ।  ‘कोरोना आउने भारतबाटै हो। त्यहाँबाट आएका व्यक्तिहरूलाई त छान्नु पर्‍यो नि’, उनी भन्छन्, ‘होइन भने महामारी कसरी नियन्त्रणमा आउँछ ?’ गौरीफन्टा नाका भएर चैत ३ गतेपछि नेपाल फर्किएका १० प्रतिशतको मात्रै एन्टिजेन परीक्षणमा पनि वैशाख ३१ गतेसम्म १७ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ। नाकाहरूमा अहिले १० प्रतिशत जतिको मात्रै परीक्षण गरेर बाँकी ९० प्रतिशत मानिसहरू घर गइरहेका छन्।अन्नपूर्णबाट

Skip This
Skip This
Logo