ओली र नेपालले कार्यदलको प्रतिवेदन हुबहु स्वीकार्नुहुन्छः सोमप्रसाद पाण्डे

ओली र नेपालले कार्यदलको प्रतिवेदन हुबहु स्वीकार्नुहुन्छः सोमप्रसाद पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने सहमति भएको थियो। कार्यदलमा ओली र नेपाल पक्षका ५/५ जना सदस्य राखिएको छ। 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्। 

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ। एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे यो सहमतिका एक सूत्रधारका रुपमा समेत चिनिन्छन्।

एमालेको आन्तरिक कलह निराकरणका लागि कार्यदलले खेल्ने भूमिकाबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यले एमाले केन्द्रीय कमिटी सदस्य पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंशः

कार्यदलले के गर्छ?

मैले बुझेअनुसार सुरुमा त विवादको चुरो कुरामाथि छलफल गरेर र त्यसको निराकरण खोजिन्छ। पार्टीलाई ९ औं महाधिवेशनले निर्दिष्ट गरेको बाटोमा हिँडाइन्छ, माओवादी केन्द्र त्यागेर आउनुभएका साथीहरुलाई कुन स्थान दिएर राख्ने निष्कर्षमा पुगिन्छ, २०७१ साल असार २२ देखि २७ सम्म भएको महाधिवेशनले पारित गरेको कुरा सबै पुनःस्थापित हुन्छन् । 

सँगै गत फागुन २८ गते पार्टी अध्यक्षले गरेका निर्णयलाई के गर्ने भनी कार्यदलले हेर्छ। उचित निर्णय लिँदै कार्यदलले प्रतिवेदन तयार पारी तीन दिनभित्र पार्टीलाई बुझाउने म्यान्डेट पाएको छ। सायद तीन दिनभित्र कार्यदलले प्रतिवेदन तयार गर्छ होला! 

जेठ २ मा फर्किंदा माओवादी केन्द्र त्याग गरेर आएका नेताहरु जिम्मेवारीविहीन बन्नुहुनेछ, त्यसो गर्न ओलीले मान्नुहोला?

माधव नेपाल पक्ष माओवादी केन्द्र त्यागेर आउनुभएका साथीहरुलाई फिर्ता जानुहोस् वा तपार्इंहरुलाई स्वीकार गर्न सकिँदैन भन्ने पक्षमा छैन। अस्ति मात्र माधव नेपालले रामबहादुर थापालाई एमालेमा स्वागत छ भन्नुभयो, त्यो हिसाबमा उहाँहरुलाई विधि–पद्धतिअनुरुप स्थान दिने प्रयत्न हुन्छ। तर, अहिले यति कुरा हो सर्वोच्चले जेठ २ मा फर्क भनेपछि त्यसअघिको पार्टी संरचना ब्यूँतिन्छ। त्यसैको मार्गनिर्देशनअनुसार पार्टी अघि बढ्छ।

कार्यदलले ल्याएको प्रतिवेदन दुवै पक्षलाई मान्य भएन भने?

कार्यदलले ल्याएको प्रतिवेदन दुवै पक्षलाई मान्य हुन्छ। दुवै नेता (ओली र नेपाल) ले त्यो स्वीकार गर्ने सहमति भएको छ। 

विगतमा पनि विष्णु पौडेलको संयोजकत्वमा सातजनाको कार्यदल बनेर २०७७ साल भदौ २६ गते ल्याएको प्रतिवेदन स्थायी कमिटीले जसरी कुनै अब्जेक्सनबिना स्वीकार गरेको थियो, त्यो नजिर हामीसँग छ। यो प्रतिवेदन पनि स्वीकार हुन्छ।   

वार्ताको माहोल बन्नेदेखि कार्यदल गठनसम्म कसरी सम्भव भयो?

वैशाख २९ गतेसम्म वार्ताको टेबुलमा बस्ने वातावरण बनेको थिएन। अन्तिम समयमा धेरै साथीहरुले वार्ताको लागि प्रयत्न गरिरहनुभएको थियो। वैशाख २९ सम्म न माधव नेपाल न प्रधानमन्त्री केपी शर्मा ओली वार्ताका लागि तयार हुनुभएको थियो। म आफूले अर्थमन्त्री विष्णु पौडेललाई वार्ताको माहोल बनाउन अनुरोध गरिरहेको थिएँ। 

त्यसैक्रममा म दुईपटक अर्थ मन्त्रालय गएर वार्ताको अन्तिम माहोल बनाउन भनेँ। उहाँले मैले पनि वार्ता होस् भन्ने चाहना राखिरहेको छु, के गर्न सकिन्छ गरौं भन्नुभयो। 

वैशाख २९ गते नै माधव नेपालसँग अनुमति मागेर म पार्टी अध्यक्षलाई भेट्न बालुवाटार गएँ र, मैले सोझै अध्यक्षलाई भने तपाईं माधव नेपालसँग वार्ता गर्ने कि नगर्ने, बालुवाटारका लागि माधव नेपाल  समूह आवश्यक छ कि छैन भनेँ। यदि आवश्यक छ भने वार्ता गरौं भनेपछि  जवाफमा ओलीले म वार्ता गर्न तयार छु, तर मैले सूचना पाएअनुसार माधव नेपाल चाहिँ वार्ता गर्न मान्नुभएको छैन अरे भन्नुभयो ।

त्यही कुरा मैले राति १० बजे माधव नेपाललाई भनेपछि उहाँले होइन, म पनि वार्ता गर्न तयार छु भन्नु भयो र, त्यसपछि वार्ताको गाँठो फुक्यो।

सबै नेताहरुको अठोटले विभाजनको संघारमा पुगिसकेको नेकपा एमाले पुनः मिलनको बाटोमा लम्किएको छ। यहाँ माधव नेपालको एउटा मुख्य बटमलाइन चाहिँ पार्टी एकीकरणभन्दा अघि अर्थात् जेठ २ मा फर्कनुपर्छ भन्ने छ। यता ओलीले पनि म जेठ २ स्वीकार गर्छु भन्ने भएपछि यो माहोल बनेको हो। अब कसरी जाने, के गर्ने भन्ने चाहिँ कार्यदलले तय गर्नेछ।

जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन छ, उपनिर्वाचनमा एमालेले रामबहादुर थापा ‘बादल’ र डा. खिमलाल देवकोटामध्ये कसलाई समर्थन गर्छ?

यस विषयमा म अहिले धेरै कुरा व्यक्त गर्न सक्दिनँ। कार्यदलले त्यसबारे पनि निर्णय गर्नेछ। कार्यदलले जे भन्छ, सबैले मान्नुपर्छ। म पनि कार्यदलको निर्णय पर्खिन्छु, यसको उत्तर दिन। अहिलेसम्म यस विषयमा आ–आफ्नो तर्फबाट कुरा हुन्थ्यो भने अब जे गर्छ कार्यदलले गर्छ।

तीन दिनभित्र कार्यदलले कुनै निष्कर्ष दिन सकेन र, दुवै समूह आ–आफ्नै अडानमा रहे भने के हुन्छ?

वार्ता सफल हुन्छ, कार्यदलले समयसीमाभित्रै प्रतिवेदन बुझाउँछ। तपाईंहरुले सुन्नुभएकै होला अध्यक्ष र वरिष्ठ नेता दुवैले वार्ता सफल भयो भन्नुभएको छ।

तपाईंले गर्नुभएको प्रश्नजस्तो शंका व्यक्त गर्ने ठाउँ छैन। अहिले सम्पूर्ण कम्युनिस्टले सिंगो पार्टी बनाउन चाहन्छन्। केही व्यक्तिगत कुण्ठा, आवेग र केही पार्टीगत निर्णयका कारण कार्यकर्तादेखि नेतृत्वसम्म यसले असर पुर्यायो। अब, नयाँ सिराबाट पार्टी अघि बढ्छ। त्यसमा कुनै शंका गर्ने ठाउँ रहँदैन।

Logo