प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गर्दै दोस्रो पटक शपथ गराउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि मङ्गलवार सुनुवाइ हुने भएको छ।
शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भने पछि यसको विरोध भएको थियो।
ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले उक्त शपथ बदर गरेर अर्को शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटको पेसी भोलि हुने सर्वोच्च अदालतले जनाएको छ।
राष्ट्रपतिले शपथ गराउँदा सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भने पनि प्रधानमन्त्रीले त्यो पर्दैन भनेर टारिदिएका थिए। उनले ईश्वर शब्द पनि उच्चारण गर्न मानेनन् । राष्ट्रपतिले दोहोर्याउँदा पनि प्रधानमन्त्रीले नमानेपछि राष्ट्रपति भण्डारी हाँसेको भिडियो अहिले सामाजिक संजालहरुमा भाइरल बनिरहेको छ।
यसबाट प्रधानमन्त्रीले राष्ट्रपति भण्डारी र राष्ट्रपति संस्थाकै अपमान भएको रिटमा उल्लेख गरिएको छ। साथै सांसद नरहेका व्यक्तीलाई मन्त्री बनाइएको भन्दै यसविरुद्ध पनि रिट परेको छ।
रिट निवेदनमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य र आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा तामाङलगायत विपक्षी छन् ।































प्रतिक्रिया