नेपालमा पहिलो पटक अक्सिजन सिलिन्डर निर्माण, नाष्टको सफलताप्रति प्रशंसा(भिडियाे)

नेपालमा पहिलो पटक अक्सिजन सिलिन्डर निर्माण, नाष्टको सफलताप्रति प्रशंसा(भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण सफलतापूर्वक गरेको छ। 

कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नाष्टले नेपालमै सिलिन्डर बनाउन सकिन्छ भन्दै नयाँ सिलिन्डर निर्माणका लागि परीक्षण गर्न सुरु गरेको हो।

परीक्षण पूर्णरुपमा सफल भयो अब नेपालले प्रेसर धान्न सक्ने सिलिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिइनेछ, नाष्टका बरिष्ठ प्राविधिक अधिकृत डा.शंकर ढकालले केन्द्रबिन्दुलाई बताए। अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिइनेछ, उनले भने। 

नेपालमा नाष्टको यो परीक्षण पहिलो हो। नेपालले नै डिजाइन गरेको आधारमा सिलिन्डर बन्नु ठूलो सफलता हुने पक्का छ। अहिले परीक्षण गरिएको सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म रहने बताइएको छ। नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालका अनुसार नेपालमा पाइने अन्य मुलुकबाट आयात गरिएका सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्दै आएको छ भने अब नाष्टको प्रविधि प्रयोग भएका सिलिन्डरको मूल्य १० हजार भन्दा कम मूल्य पर्ने अनुमान गरिएको छ। 'चिकित्सकीय क्षेत्रमा यो ठूलो फड्को हुनेछ', डा.ढकालले थपे।

त्यसो त सिलिन्डरको परीक्षण गत मंगलबार गरिएको हो। 'कति सुरक्षित छ भनेर परीक्षण गर्न सिलिन्डर विस्फोट गराउनु पर्ने हुन्छ, हामीलाई आवश्यक २२५ बार मात्र त्यसभन्दा माथि हामीले २३५ सम्म ग्यासको दबाब दियौं र २३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आयो र विस्फोट भएन। २३५ पनि अहिलेको लागि ठूलो सफलता हो तर, अझै गुणस्तर र भारबहन क्षमतालाई मजबुद बनाएर मात्रै उत्पादनमा दिन्छौं', ढकालले भने।

त्यसो त नास्टले कोरोना नियन्त्रणको सबालमा स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार पारेको थियो, जुन अतिउपयोगी सावित भएको थियो। त्यस्तै पिपिइको अभाव खड्किएको यसअधिको कोरोनाको तरंगमा पिपिईको परीक्षण गरेको थियो, अहिले नेपाल पिपिईमा आत्मानिर्भर छ। कोरोना नियन्त्रणमा नाष्ट सक्रिय भएर लागेको छ।

मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियो लाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनले प्रतिबद्धता गरे।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै, विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने नपर्ने बताए ।

Skip This
Skip This
Logo