नयाँ भेरियन्टको कोरोना भाइरस ५० प्रतिशत बढी संक्रामक (भिडियोसहित)

नयाँ भेरियन्टको कोरोना भाइरस ५० प्रतिशत बढी संक्रामक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा पुष्टि भएको नयाँ भेरियन्टको कोरोना भाइरस यस अघि देखिएको भन्दा ५० प्रतिशत भन्दा बढी संक्रामक रहेको बताएको छ। यद्यपि हाल कोभिडविरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्युदर कम गराउन प्रभावकारी हुने पनि महाशाखाले जनाएको छ। यस्तै नेपालमा नयाँ कोरोना संक्रमितको संख्या पनि दैनिक ९ हजार बढीरहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारको डाटा अनुसार थप २ सय ४६ जनाको मृत्यु भएको छ भने, ७ हजार ९ सय बढी निको भएका छन्। 

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता अनुसार जेठ ३ गते राति १२ बजेपछि मौनअवधि पनि सुरु भइसकेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै मौन अवधिको अवज्ञा गर्दै गृहमन्त्री रामवहादुर थापाको पक्षमा भोट हाल्न एमालेपक्षलाई आह्वान गरेपछि भने निर्वाचन आयोगले त्यसप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ। आयोगले बुधबार एक विज्ञप्ति निकाल्दै निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकाले पालना गरिदिन आग्रह गरेको छ । 

संविधानको उल्लङ्घन हुने गरी गैरसांसदलाई दोहोर्याएर मन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा पुनः दुई रिट परेका छन् । सांसद नहुँदा पनि दोहोर्याएर जिम्मेवारी पाएका मन्त्रीहरूलाई पदमुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा बुधबार दुई रिट निवेदन परेका हुन् । दुवै रिट निवेदनमाथि बिहीबारका लागि पेशी तोकिएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको मागसहित विपक्षी दलहरू न्यायिक उपचारका लागि सर्बोच्च जाने भएका छन्। 

नेपालमा कोरोना संक्रमणका कारण आर्थिक गतिविधिमा ठूलो असर परेको छ। यसैबीच सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना नलगाउन आदेश दिएको छ। यस्तै नेपाल राष्ट्र बैंकले पनि निषेधाज्ञा अवधिभर ऋण तिर्न नसकेका ग्राहकले बैंकलाई कुनै पनि हर्जना वा अतिरिक्त शुल्क तिर्नु नपर्ने लगायतका व्यवस्था गरेको छ। 

टोकियो ओलम्पिक २०२१ को मिति नजिकिँदै गर्दा नेपाली खेलाडी पनि अभ्यासमा जुटेका छन्। जसमा कराँते खेलाडीहरू अनु अधिकारी र नविन रसाइली स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिक ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्। टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । यद्यपि प्रतियोगिताका लागि १२ खेलाडी वाइल्ड कार्डको पर्खाईमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन्। 

Skip This
Skip This
Logo