प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएको छ।
कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने भएको हाे। यस सम्बन्धि निर्णय बुधबार बसेको संसदीय दल कार्यसमितिको बैठकले गरेको हो।
यस्तै सो बैठकले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। यस्तै कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको छ।
बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने देश, अन्तर्राष्ट्रिय संघसंस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ। साथै बैठकले कोरोना उपचार र नियन्त्रणको व्यवस्थापनमा स्थानीय तहले गरेको कामको सराहना गर्दै प्रदेश र संघीय सरकारलाई स्थानीय तहलाई थप अनुदानको व्यवस्था गर्न माग गरेको उनले बताए।
बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसले कोरोना रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक खाणले जानकारी दिए।































प्रतिक्रिया