कोभिड–१९ पहिचान गर्न पीसीआर परीक्षण गर्नका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेको छ। त्यसैकारण अब अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको छ।
त्यसो त यसअघि पीसीआर परीक्षणका लागि प्रयोगशाला वा अस्पताल जानुपर्ने बाध्यता थियो।
जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने सम्बन्धी मापदण्ड–२०७८’ ल्याएपछि जोकसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिन सक्ने छन्।
जनस्वास्थ्य प्रयोगशालाले यसरी घरमा नै बोलाएर पीसीआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने पनि जनाएको छ।
मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पीसीआर परीक्षणका लागि घरमा नै फोनमार्फत स्वास्थ्यकर्मी बोलाउन सक्ने जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले केन्द्रबिन्दुलाई बताए।
बिरामी भएको वा संक्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पीसीआरका लागि नमुना संकलन गर्ने उनले बताए।
त्यसो त अस्पताल वा प्रयोगशालासम्म धाउँदा संक्रमण फैलिने डर रहने अहिलेको अबस्थामा घरमै स्वाव संकलन गर्ने जनस्वास्थ्य प्रयोगशालाले ल्याएको मापदण्डले नागरिकलाई राहत पुगेको भक्तपुर बस्ने विनोदकुमार भट्टराईले बताए।
'अस्पतालसम्म धाउनु नपर्ने भयो यो नै ठूलो कुरा हो।'- भट्टराईले थपे। मुलुकभर अहिले ९० बटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदैछ।
कोरोनाको नयाँ तरंगसहित थप भेरियन्टहरु देखा परिरहेको अबस्थामा सरकारले पछिल्लो समय अस्पताल वा प्रयोगशालाहरुबाट करिब २० हजार पीसीआर परीक्षण गरिरहेको छ।































प्रतिक्रिया