टाइटानिकको नाम सुन्ने बित्तिकै करिब १०९ वर्ष पहिले हिउँको थुप्रोमा ठोक्किएर यस विशालकाय जहाज समुद्रमा डुबेको याद ताजा हुन्छ। जसमा सयाैं मानिसले ज्यान गुमाएका थिए । अब भने आम मानिसले यो डुबेको जहाज हेर्ने दिन फिरेका छन् ।
टाइटानिकका बारेमा कुरा गर्दा उक्त समयको यो सबैभन्दा ठूलो र आकर्षक जहाज थियो । यसका बारेमा त्यसबेला कहिल्यै नडुब्ने जहाज भनेर चर्चासमेत चलेको थियो। तर, आफ्नो पहिलो यात्रामा नै यस जहाजले आफूसँगै हजारौं मानिसलाई समुद्रमा विलय गरायो ।
यसको निर्माण आयरल्याण्डको हाल्र्याण्ड तथा वल्फ शिपयार्डमा भएको थियो । जहाज २ हजार २२३ जना यात्री लिएर न्युयोर्कको यात्रामा हिंडेको थियो। सन् १९१२ को १४–१५ अप्रिलको रात उत्तरी एटलान्टिक महासागरको हिउँको थुप्रोमा ठोक्किएर जहाज दुई टुक्रा भएर समुद्रमा डुबेको थियो । उक्त दुर्घटनामा १ हजार ५०० यात्रुले ज्यान गुमाएका थिए ।
उक्त दुर्घटना भएको ९७ वर्षपछि एटलान्टिक महासागरमा सन् १९८५ मा करिब १२ हजार ४६७ फिट गहिराइमा टाइटानिकको भग्नावशेष फेला पारिएको थियो । भग्नावशेष फेला परेपछि चर्चित फिल्म टाइटानिक बनेको थियो । फिल्म धेरै मानिसले रुचाएको पाइन्छ । जसका कारण जहाजप्रति मानिसको जिज्ञासा पनि बढेको थियो ।
यदि टाइटानिकलाई नजिकबाट हेर्न सकिने मात्र होइन छुन पनि सकिन्छ भन्यो भने तपाईँ कत्तिको विश्वास गर्नुहुन्छ? किनकि करिब सय वर्ष अघि समुद्रको अनन्त गहिराइमा डुबेको उक्त जहाज अहिले पनि हेर्न सकिन्छ भन्दा कमै विश्वास हुन्छ ।
तर, यस अविश्वासलाई विश्वासमा परिणत गर्ने काम पानी मुनिको दुनियाँ खोजी गर्ने द ओशनगेट एक्सपिडिशनले आफ्नो द टाइटानिक सर्भे एक्सपिडिशन २०२१ परियोजनामा संसारको चर्चित ऐतिहासिक साइट टाइटानिकको भ्रमण गराउने घोषणा गरेको छ ।
फक्स न्युजका अनुसार ओशनगेट एक्सपिडिशनले टाइटानिक टुरिष्ट प्याकेजनै सार्वजनिक गरेको छ। तर, यसका लागि तपाईँले एक लाख पच्चिस हजार डलर भने खर्च गर्नुपर्नेछ । यति रकम खर्चेपछि तपाईँले टाइटानिक जहाज हेर्न तथा छुन पाउनुहुनेछ।
उक्त मिशन ६ चरणमा चल्नेछ । एउटा मिशन दश दिनको हुनेछ । मे महिनादेखि जुलाईसम्म उक्त मिशन चल्नेछ । एउटा समूहमा पाँच पनडुब्बी गोताखोर सामेल हुनेछन् । गोताखोरले सामान्य मानिस, वैज्ञानिक तथा खोजकर्तालाई टाइटानिकको भग्नावशेष भएको ठाउँमा लिएर जानेछन्।
यस मिशनमा सहभागी हुनका लागि ओशनगेट एक्सपिडिशनको मातहतमा विशेष प्रकारको तालिमसमेत दिइन्छ जसले भग्नावशेषको खोजी तथा अवलोकनमा मद्दत गर्नेछ । विशेषज्ञको एक समूहले पानी मुनि जाने मानिसको छनौटसमेत गर्नेछ ।































प्रतिक्रिया