जसपाको महन्थ-राजेन्द्र पक्ष नयाँ सरकार गठनको दौडमा नलाग्ने

जसपाको महन्थ-राजेन्द्र पक्ष नयाँ सरकार गठनको दौडमा नलाग्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूहरु नयाँ सरकार गठनको दौडमा नलाग्ने बताएको छ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफू पक्षिय सांसदहरुको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले आफूहरु विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताए। आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा नरहेको पनि स्पष्ट पारे। 

उनले भने,–‘हामी त सुरु देखिनै तटस्थ बस्दै आएका छौँ। अहिले पनि हाम्रो अवस्था त्यही छ। तर हामी उनको विरोधमा छैनौं। हाम्रो फ्रेन्ड्ली सम्बन्ध सबै पार्टीसँग छ। प्रधानमन्त्रीसँग पनि छ। प्रधानमन्त्रीको सरकारप्रति पनि त्यही हो।’

ठाकुरले संविधान संशोधन गर्नका लागि ५ सदस्यीय कार्यदल बनाइएको र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको पनि जानकारी गराए। 

जसपाका वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोले आफूहरु पद र कुर्सिको लागि नलागेको बताए। जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उनको भनाइ छ।

महतोले आफूहरु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारे। उनले आफूहरुसँगको सहमतिका आधारमा सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको, मधेश आन्दोलनका सन्दर्भमा मुद्दा लागेका १२० जना नेता कार्यकर्तालाई मुद्दा फिर्ता गरिएको र दोस्रो चरणमा पनि बन्दीहरुलाई छुटाउने सम्बन्धमा प्रक्रिया अगाडि बढेकोसमेत बनाए। आफ्नो माग सम्बोधनका लागि सरकारसँग वार्ता गरिरहेको र त्यसलाई अगाडि बढाउने पनि उनले बताए।

Logo