मैले नेपालीको मन सफा र राम्रो पाएको छु: सहरोज कासिफ (पाकिस्तानी कान्छा सगरमाथा आरोही)

मैले नेपालीको मन सफा र राम्रो पाएको छु: सहरोज कासिफ (पाकिस्तानी कान्छा सगरमाथा आरोही)

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानबाट सगरमाथा चढ्ने सबैभन्दा कान्छा उमेरका (१९ वर्ष) आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताएका छन्। आरोही कासिफले आफूले नेपालमा पाएको माया र सम्मान अनि पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समूहले पाएको सम्मान समान भएको बताए। 

सगरमाथा र के टु चढेर आफूहरुले माया र सम्मान साटासाट गरेको बताए। यो विश्वका सर्वोच्च शिखरको स्नेह आदान–प्रदान गरेको बुझ्नुपर्ने उनको भनाइ थियो । प्रस्तुत छ कान्छा आरोही सहरोज कासिफ (पाकिस्तान) सँग गरिएको कुराकानीः

तपाईंलाई बधाई छ। संसारको सर्वोच्च शिखरमा पाइला राखेर आउनुभयो। कस्तो अनुभव गर्नुभयो?

यो मेरो उपलब्धी हो। म संसारको सबैभन्दा अग्लो हिमाल चढेको मात्र नभएर मैले देखेको सपना पुरा गरेको छु। आठ वर्ष अगाडि मैले देखेको सपना पुरा गरेको छु। माथि पुग्दा म मात्र थिइनँ मेरो देश (पाकिस्तान) पनि माथि पुगेको थियो। त्यो मेरो हर्षको समय थियो ।

तपाईं सगरमाथा चढ्दै गर्दा पाकिस्तानबाट सगरमाथा चढ्ने कम उमेरको व्यक्तिको रेकर्ड बनाउनुभयो। यो कोणबाट तपाईंको अनुभव बताइदिनुस् न।

एक पाकिस्तानी हुनुको नाताले जुन उपलब्धि हाशिल गरें, त्यो मेरो देशको सघन तस्वीर दुनियाँलाई देखाएको छु। म धन्य पनि छु, २० करोड जनसंख्या भएको देशलाई प्रतिनिधित्व गरेको छु। म आफूलाई भाग्यमानी पनि ठान्दछु।

यसको अर्को पक्षबाट कुरा गरौँ। नेपालमा धेरै हिमालहरु छन्। पाकिस्तानमा पनि ८ हजारमाथिको दोस्रो अग्लो हिमाल माउन्ट के टु छ। अब मलाई बताइदिनुस्, नेपाल–पाकिस्तान र हिमाल–हिमालबीचको सम्बन्ध कस्तो लाग्छ?

हामीलाई पहाडले नै जोडेको छ। जुन माया, स्नेह नेपालमा पाएको छु र गएको हिउँदमा के टु आरोहण गर्ने नेपाली समुहले पाकिस्तानमा पाएको स्नेह र सम्मान समान छ। यहाँ नेपाली पाकिस्तानीले मात्र हैन, देश–देशबीच हिमाल–हिमालबीच माया, स्नेह साटासाट भएको पाएको छु ।

हाम्रो दुवै देशमा कोरोना संक्रमणले परिस्थिति विषम बनेको छ । गएको दुई महिनादेखि नेपालमा हुनुहुन्छ। यहाँ बस्दा नेपाली संस्कृति कस्तो लागेको छ, कस्तो महसुस गर्नुभयो ?

म एकदमै खुशी साथ भन्न चाहन्छु, मैले शान्तिको अनुभव गरेको छु। म मन्दिर, गुम्बा, बौद्ध घुमें। सोलुखुम्बु, नाम्चेमा भएको गुम्बा पनि हेरें। नेपालको जुन संस्कृति छ, यहाँका बासिन्दा हंशमुख र खुसी छन्। नेपालीको मन सफा र राम्रो पाएको छु। यो देश धेरै सुन्दर छ। पाकिस्तानीहरु नेपाललाई धेरै माया गर्छन्। नेपालको पक्षमा उभिन चाहन्छन्। म फेरिफेरि पनि नेपाल आउन चाहन्छु ।

यो त सगरमाथा र के टु चढाइएको कुरा भयो। अर्को हाम्रो जन–जनको सम्बन्ध पनि छ। नेपाल र नेपालीबारे थोरै भएपनि थाहा पाउनुभयो। पाकिस्तानमा गएर नेपाल र नेपालीको बारेमा के गर्न सक्नुहुन्छ?

अहिले नेपालीले भोगेको समस्या भिजा अनएराइभल हो। यो सरकारको उच्चस्तरको निर्णय होला। के गर्ने, यस बाहेक नेपालीले पाकिस्तानमा पाउने सम्मानमा कुनै कमि छैन। आजसम्म मैले थाहा पाएसम्म त्यस्तो कुनै सम्मानमा कमि हुने काम भएको छैन। मैले नेपालमा जुन प्रकारको माया, सम्मान पाएको छु, यस्तै कोही नेपाली दाजुभाई पाकिस्तान आउनुभयो भने यो भन्दा राम्रो र अझ धेरै सम्मान दिन चाहन्छु। यसो गर्न सकियो भने दुवै देशको सम्बन्ध राम्रो बनिरहन्छ।

जाँदा जाँदै तपाईं सगरमाथा चढ्न जाँदा कुनै यस्तो अनुभव गर्नुभयो, जुन आगामी दिनमा सुधार्नुपर्नेछ ?

मैले त्यस्तो केही पाइनँ। मलाई सबै राम्रो लागेको छ। सबैकुरा व्यवस्थित थियो। म सबै नेपाली दाजुभाईलाई धन्यवाद दिन चाहन्छु। म सेभेन समिट कम्पनीलाई विशेष धन्यवाद दिन चाहन्छु। सबै ठिक छ। भन्नुपर्ने केही छैन। आवश्यक पनि छैन।

Logo