गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

केन्द्रबिन्दु
0
Shares

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  उनीहरूको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा  आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र  पारेको  छ ।  हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । 
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए । उहाँका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेशन केन्द्रको व्यवस्था गरिएको बताए । उनले भने, “सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण गछौँ ।”

इच्छाकामनामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या  ८८ पुगेको छ । तीमध्ये दुई सङ्क्रमितको मृत्यु भएको छ । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ छ । उनीहरुमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेशनमा छ जना उपचाररत छन् भने अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले नागरिकको घरघरमा गएर स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।

Skip This
Skip This
Logo