हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ । सोमबार विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्चमा रिट पेस गरेका हुन् । यसैबीच सांसदहरूले अदालतप्रति पूर्ण भरोसा रहेको र अदालतले यसअघि गरेका व्याख्यालाई टेकेर अबका केही दिनभित्रमै संसद पुर्नस्थापना हुने विश्वास पनि व्यक्त गरेका छन्।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको भर्चुअल प्रेस मिटका क्रममा उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मकरुपमा लिएको बताएका हुन्। यस्तै मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि जानकारी गराएका छन्। उनले हालै कोभिडविरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल भई पत्रसमेत काटिसकिएको पनि जानकारी दिएका छन्। यस्तै आगामी चार सातापछि मात्र कोभिड संक्रमणको गति घट्न सक्ने आँकलन पनि मन्त्रालयले गरेको छ।
नेपालमा कोरोना भाइरसको बढ्दो प्रभावकाबीच सरकारलाई विभिन्न संघ, संस्था दातृ निकायहरुले विभिन्न किसिमका स्वास्थ्य सामाग्री सहयोगस्वरुप प्राप्त भइरहेको छ । तर ती स्वास्थ्य सामग्री कतिको गुणस्तरिय छन् भन्ने कुराको मुल्यांकन भने हुन सकेको छैन। अझ सहयोगस्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण र कार्य सघनताको मुल्यांकन पनि गरिएको पाईदैन । यसरी महामारीका बेला गुणस्तरहिन सामग्रीको प्रयोगले बिरामीको ज्यान नै जोखिममा पर्ने विज्ञहरू बताउँछन्।
नेपालमा कोरोना संक्रमण बढ्दै गएको प्रसंगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ल्याएको अध्यादेशको पालना गर्न सर्वसाधारणमा अपील गरेको छ। अध्यादेश पालना नगरेमा वा पालना गर्न अवरोध पुर्याएमा एक वर्षसम्म कैद वा पाँच लाख जरिवाना वा दुवै सजायँ हुने पनि प्रशासनले जनाएको छ। यस्तै नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थामा पनि कडाई गरको छ। राष्ट्रबैंकले सीमित शाखा मात्र खोलेर अर्थात आलोपालो रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार व्यापारघाटा भएको छ । यद्यपि साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको र निर्याततर्फ १० वर्ष अघिको १ खर्ब बढीको निर्यात लक्ष्य चालु आर्थिक वर्षको १० महिनामै हासिल गर्न सफल भएको भन्सार विभागले जनाएको छ।































प्रतिक्रिया