मन्त्रीबाट फिर्ता हुन एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशन

मन्त्रीबाट फिर्ता हुन एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सो पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ।

एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसको दोस्रो दिन एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङसहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ। प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको छ।

प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सबै एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल समूहका हुन्।

एमाले प्रदेश कमिटीले तिनै मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिइएको छ। प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाएका हुन्। एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको जानकारी दिए। 

प्रदेशको एमाले संसदीय बैठकले भने आज स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। प्रदेश कमिटी अध्यक्ष थापाले पार्टीको निर्णयविरुद्ध जानेलाई कारबाही गरिने बताए।

Skip This
Skip This
Logo