हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले जनतामा आतंक फैलाउने काम गरेको भन्दै त्यसको विरोध गरेको छ। आफ्ना असंबैधानिक कदमलाई बैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर कांग्रेसको छ। तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सामाजिक सञ्जालमार्फत नै भएपनि, राष्ट्रपति र सरकारको असंबैधानिक कदमविरुद्ध लाग्ने पनि कांग्रेसले निर्णय गरेको छ।
सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र काटेको छ । एमालेले नेता माधव नेपाल, झलनाथ खनाल तथा भीम रावलसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्काशित गरिसकेको छ। उता सुदुरपश्चिम प्रदेशमा पार्टीको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सरकारमा रहेका आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमाले प्रदेश कमिटीले निर्देशन दिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। इन्टरनेट प्रयोगकर्ता मध्येमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको पनि प्राधिकरणले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे विकल्पसहित छिट्टै निर्णय गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने तथा कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले आफैं सञ्चालन गर्न सक्न पनि बताएका छन् ।
भारी वर्षासहितको ‘यास’ नामक चक्रवातका कारण भारत र बंगलादेशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ। लाखौं मान्छे प्रभावित बनेका छन् भने कयौं बस्तीहरू डुबानमा परेका छन्। कोरोना महामारीका समयमा चक्रवातको असरले जनजीवन झनै कष्टकर बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।































प्रतिक्रिया