कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन्।
आज प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्लंघन गरेको बताएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीका लागि आह्वान भएपछि आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको तर राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवाले आक्रोश पोखे।
कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो भन्दै उनले मध्यरातमा प्रधानमन्त्रीले भने अनुसार राष्ट्रपति चलेको बताए ।
‘संविधानको उल्लंघन प्रधानमन्त्रीले त गरेका थिए राष्ट्रपतिले पनि गर्नुभयो । संविधानको ठाडो उल्लंघन राष्ट्रपतिले पनि गर्नुभयो,’ देउवाले भने ।
सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएको तर राष्ट्रपति भण्डारीबाट संविधानअनुसार काम नभएको देउवाले थपे।
त्यसो त मुलुकमा मनपरीतन्त्र चलेपछि कांग्रेस अदालत गएको देउवाको भनाइ थियो । स्वतन्त्र न्यायपालिकाले संविधानमाथिको हस्तक्षेपलाई परास्त गर्ने विश्वास आफूले लिएको उनले बताए ।
देउवाले पार्टीको महाधिवेशन भदौमा गर्न आफू तयार रहेको र त्यसका लागि सबैसँग छलफल गरिने पनि बताए ।
कोरोना महामारीको समयमा कसरी महाधिवेशन गर्ने भन्नेबारे सबैलाई सुझाव दिन उनले आग्रह गरे। आफूलाई महाधिवेशन नगरी बस्न रहर नभएको पनि उनले बताए ।































प्रतिक्रिया