काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।
बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन भएको बताएका हुन्। उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको उनले बताए। उनले भने– ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन। ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौं।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए। सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्री वितरणको व्यवस्था मिलाउने उनले उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी पराजुलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकनसमेत गरेका थिए।
काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले जानकारी दिए। पराजुलीले कोरोना संक्रमणको दर बढेका कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको स्पष्ट पारे। प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको उनको भनाइ छ।































प्रतिक्रिया