सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन सरकारलाई आग्रह

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन सरकारलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन्। साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरेका छन्। 
 
उनले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएको समेत स्मरण गराएका छन्। “कांग्रेस आफैं पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागि परेको छ। तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम कांग्रेसले गर्न सक्ने कुरा भएन। सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पीरमर्का गौण हुन पुगेका छन्” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
 
देशैभर अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण सङ्क्रमण र मृत्युदर कम हुन नसकेको उल्लेख गर्दै सभापति देउवाले सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको सङ्क्रमण रोक्न फेरी पनि सरकारले निषेधाज्ञाको साहारा लिएको आरोपसमेत लगाएका छन्। सङ्क्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्नेमा निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको उनको टिप्पणी छ। 
 
उनले कोभिड–१९ विरुद्धको खोप तत्काल आपूर्ति गर्न, देशभर आवश्यकता अनुसार आईसियु वेड र अक्सिजनको व्यवस्था गर्न तथा निम्न आय भएका नागरिकलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेका छन्। देशको हरेक गाउँ, नगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्न, सङ्क्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न पनि सरकारसँग उनले माग गरेका छन्। 
 
सभापति देउवाले निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी आवश्यकताअनुसार कार्यान्वयन गर्न, विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न तथा खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि माग गरेका छन्।
 
सभापति देउवाले भनेका छन्, “वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत छ। संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिँदैछ। सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु।”

Skip This
Skip This
Logo