प्रधानमन्त्री केपी शर्मा ओलीले गएको तीन वर्षमा रणनीतिक पूर्वाधारहरूको क्षेत्रमा अहिलेसम्मकै धेरै उपलब्धि हासिल भएको बताएका छन् ।
शुक्रबार सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै सडक, मोटर र झोलुङ्गे पुल, तुइन विस्थापनलगायत काम भइरहेकाले इतिहासमै धेरै उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीको दाबी छ।
कुल रणनीतिक सडकमध्ये १७.१ प्रतिशत सडक विगत तीन वर्षमा मात्र निर्माण भएको र तीन वर्षमा सम्पन्न गर्ने गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक÷एक रणनीतिक सडक र स्थानीय तहहरूलाई एक आपसमा जोड्ने, सबै स्थानीय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण सुरु भएको बताएका छन्। यसले सबै पालिका र क्षेत्रहरूमा यिनको दूरगामी सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको विश्वास छ।
तीव्ररूपमा निर्माण भइरहेको काठमाडौं तराई द्रुत मार्गले केही वर्षभित्रै परिणाम दिनेछ। विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्ग, निर्माण सम्पन्न हुन थालेको पुष्पलाल लोकमार्ग र निर्माणाधीन मदन–भण्डारी राष्ट्रिय राजमार्गले अर्थतन्त्र र सामाजिक जीवनलाई थप गतिशील बनाउने बताएका छन्।
योसँगै बहुप्रतिक्षित हुलाकी राजमार्गका महत्वपूर्ण खण्ड सम्पन्न भएसँगै तराईमा विकासका सम्भावना थपिएको उनको भनाइ छ । भैरहवा र पोखरामा निर्माण सम्पन्न हुने चरणमा पुगेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान गर्ने विश्वास रहेको छ।
गोदावरीमा ३ हजार र लुम्बिनीमा ५ हजार क्षमताका सभाहल निर्माण भएको र जयनगर जनकपुर कुर्था रेल छिट्टै सञ्चालनमा आउने उनले बताए। नागढुङ्गा सुरुङ मार्ग निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ भने सिद्धबाबामा सुरुङ निर्माणका लागि बोलपत्र आह्वान भएको जनाएको छ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले चिरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंवासीका पानीको तिर्खा मेटिएको बताउँदै छिट्टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको बताएका छन्। संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट कुल जनसंख्याको ९२ प्रतिशतलाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउन सफल भएको बताएका छन् ।
यस्तै भेरी बबई डाइभर्सनको सुरुङको काम सम्पन्न भएर सिँचाइ पूर्वाधारका काम सुरु भएका छन् भने सुनकोसी मरिन डाइभर्सनको काम सुरु भएको बताएका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीले भने, भूकम्पपछिको पुनर्निर्माणलाई हामीले उदाहरणीय रूपमा सम्पन्न गरेका छौं।भूकम्पका कारण बेघरबार बनेका ८ लाखभन्दा बढी परिवार सुरक्षित घरमा फर्किन थाल्नुभएको छ, विद्यालय भवन, स्वास्थ्य संस्थाहरू र सरकारी कार्यालयहरूको पुनर्निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ।
पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कुल राजधानीको मुटुमा स्थापित भएको उल्लेख गरेका छन् । हरेक नेपाली व्यवस्थित ओत भएको सुरक्षित घरमा बस्न पाउनु पर्छ भन्ने सरकारको प्रतिबद्धता अनुरूप तीन वर्षको अवधिमा १३ हजारभन्दा बढी जनता आवास निर्माण भएको उल्लेख गरेका छन्।
७ हजार फुस तथा खरका छाना जस्तापाताले प्रतिस्थापन गरिएको र कसैले पनि सडकमा जीवन गुजारा गर्न नपरोस् भन्ने उद्देश्यले सडक मानवरहित सहर र बस्तीको अवधारणा कार्यान्वयनमा ल्याइएको बताएका छन्।
टोर्नाडोबाट घरबारविहीन बन्न पुगेका नागरिकहरूका लागि छोटो समयमै ८ सय ६९ सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको र बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ आदिबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित आवास उपलव्ध गराउने प्रक्रिया सुरु गरिएको बताए।
सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरी कार्य प्रारम्भ गरिएको छ भने सरकारी, सार्वजनिक र गुठी जग्गाको यथार्थ अवस्था पहिचान गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्त भएको जनाएको छ।
तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको र देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन्। माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको छ।































प्रतिक्रिया