हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आइतबारका लागि ‘हेर्दाहेर्दै’मा राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ शुक्रबारबाट सुरू भएको हो।
प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए। नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि सुनुवाई आइतबारका लागि राखिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुशासनभन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताएका छन् । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा जानकारी गराउँदै आफूले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको पनि प्रधानमन्त्रीले दावी गरेका छन् ।
आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तक्र्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरेका छन् ।
नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८मा २०७१÷७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको मन्त्रालयले जनाएको छ। चालु आर्थिक बर्षमा कोरोनाका कारण अनुमानित ४ दशमलव १ आर्थिक वृद्धिदर हासिल गर्ने कार्य निकै चुनौतीपूर्ण बन्दै गएको पनि मन्त्रालयले जनाएको छ। यद्यपि, अर्थतन्त्रका समष्टीगत सूचकहरु सकारात्मक रहेको मन्त्रालयले जनाएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सक लगायतमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि चार÷पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेका थिए । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै अस्पतालमा चिकित्सक तथा नर्समाथि आक्रमण गर्ने दोषिमाथि कारवाही गर्न सम्बन्धीत निकायसँग माग गरेको छ। सरकारले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले जानकारी दिए। तीनै देशमा सातामा बढीमा दुई उडानमात्र खुला गरिएको हो। हाल नियमित उडान गर्ने आन्तरिक तथा बाह्य उडान बन्द रहेका बेला सरकारले हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका यी उक्त उडान खोल्ने तयारी गरेको हो।





























प्रतिक्रिया