नेपालमा पछिल्ला केही दिन यता कोरोना भाइरसको संक्रमण घट्ने क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा पनि नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको पाइएको छ।
आइतबार १२ हजार ७ सय ६७ जाको परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जुन प्रतिशतको हिसाबले ३४.२२ प्रतिशत हुन आउँछ।
हिजो शनिबार १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात संक्रमण दर ३०.४१ प्रतिशत थियो भने अघिल्लो सातासम्म परीक्षण गरिएका मध्ये ५० प्रतिशतसम्म संक्रमण देखिने गरेको थियो।
गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो जुन प्रतिशतको हिसावमा ५०.३५ प्रतिशत हो। तर, त्यो रेसियो घटेर पछिल्लो समय संक्रमण पुष्टी हुने दर ३० प्रतिशतभन्दा कममा झरेको छ।
पछिल्लो समय संक्रमित निको हुने प्रतिशत पनि बढ्दो छ। नेपालमा केहि सातादेखि अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन।
केही समयअघिसम्म टेकु, टिचिङ अस्पताल संक्रमितले भरिभराउ थिए भने अहिले संक्रमितको चाप नभएको अस्पताल प्रशासनले जनाएको छ।
त्यसो त जेठ ९ गतेदेखि संक्रमण दर घट्दै गएको हो। जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा संक्रमण पुष्टि भयो।
प्रतिशतमा यो ३९.७१ प्रतिशत मानिसमा संक्रमित रहेको देखिन्छ। त्यस्तै जेठ १० गते ३६.३० प्रतिशत मानिसमा संक्रमण पुष्टि भएको थियो।
शनिबारसम्म आइपुग्दा संक्रमण दर ३०.४१ प्रतिशतमा झरेकोमा आइतबार पुनः ३४ं.२२ प्रतिशतमा संक्रमण पुष्टि हुने दर रहेको छ।
के भन्छन् त विज्ञहरु ?
विज्ञहरूले संक्रमणदर घटिरहेको भन्नेमा भने शंका रहेको बताएका छन्। काठमाडौं उपत्यकासहित सहरहरुमा संक्रमण घटेको जस्तो देखिएपनि संक्रमण काठमाडौं उपत्यका र सहरी क्षेत्रकै घर–घरमा र गाउँ–गाउँमा पुगेको विज्ञहरुले बताएका छन्। विज्ञहरु संक्रमितहरु परीक्षणको दायरामा नआईरहेका कारण संक्रमण घटेजस्तो देखिएको उनीहरुको तर्क छ।
संक्रामक रोग विज्ञ तथा जिवाणु वैज्ञानिक सन्तोष दुलाल संक्रमण घटेको नभइ संक्रमण पहिचान चाहिँ नभएको भन्ने मत राख्छन्।
सहरी क्षेत्रमा संक्रमण घटेको देखिए पनि अहिले गाउँ–गाउँमा संक्रमण रहेको र गाउँका मानिसहरु संक्रमण पहिचान गर्न परीक्षणको दायरामा नआएको हुँदा संक्रमण घटेको जस्तो देखिएको दुलालले थपे।
यता सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने संक्रमण दर घटिरहेको र यसलाई राम्रै मान्नुपर्ने बताए।
पुनले संक्रमण यसरी नै घट्दै गए लकडाउनलाई खुकुलो पार्दै लैजान सकिने तर लकडाउनलाई खुकुलो पार्दा सबै ठाउँ एकैपटक नभएर संक्रमणको अवस्था हेरी ठाउँठाउँमा खुकुलो पार्दै लानु पर्ने डा. पुनको जोड छ।
पुनः नयाँ भेरियन्टको आउन सक्ने सम्भावना कति छ भन्ने प्रश्नमा डा.पुनले नयाँ भेरियन्टको सम्भावना रहेको बताए। खोपको प्रयोग सबै मुलुकमा नभए कोरोनाले अझै दुःख दिने बताए।





























प्रतिक्रिया