हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
न्यायाधिश र प्रधानन्याधिशको स्वेच्छिक छनौटमा अधिवक्ताहरूले समय खर्चिदा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ प्रभावित बनेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नहुने अधिवक्ताहरूले माग गरिरहँदा इजलासकै नेतृत्व गर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा चाहिँ विदा बस्नुपर्ने माग उठेको छ। जुन माग उठ्नु सामान्य होइन। आइतबारका लागि तोकिएको पेशीमाथि आज बहस हुन नसकेपछि पुनः मंगलबारका लागि सारिएको छ। भोलि सोमबार भने, न्यायाधीशहरु श्रेष्ठ र केसी रहने–नरहनेबारे भने भोलि निर्णय हुने भएको छ।
नेपालमा कोरोना परीक्षण दर घटेसँगै संक्रमितको संख्यामा पनि ह्रास आएको छ। तर, साँच्चै संक्रमितको संख्या घटेको हो वा, परीक्षण घटाइएका कारण संक्रमित कम पुष्टि भएका हुन् भन्ने बारेमा भने दुविधा सृजना गरिदिएको छ। सरकारले पिसिआर परीक्षण घटाए पनि निषेधाज्ञामा भने कडाइ गर्दै आएको छ। नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय बढी संक्रमित हुँदा ६ हजार दुई सय बढीले कोरोना जितेका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको बताउँदै उनले यसप्रति विश्वस्त हुन पनि सबैलाई आग्रह गरेका छन्। आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिवद्धता अथमन्त्रीले जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट अर्थात माधव नेपाल पक्षीय समूहबाट देशका लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन्। तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रको नेतृत्व धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको पनि टिप्पणी गरेका छन्। विगतमा महिला अधिकारका लागि भएका आन्दोलन महिला नेतृहरुको भूमिका र बलिदानीको चर्चा गरेका थिए। यस्तै प्रधानमन्त्रीले अहिलेको समयमा महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
शनिबार राति सम्पन्न इराकसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ६–२ गोल अन्तरको हार ब्यहोर्यो । तर, हार ब्यहोरे पनि नेपालको प्रदर्शनले मन जितेको अधिकांशको टिप्पणी रहेको छ। फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वीमाथिको प्रदर्शनले मन जितेको हो। अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पनि पारो घटेको भन्दै नेपाली फुटबलमा थप आशा जागेको खेलकुदवृत्तमा चर्चा सुरु भएको छ ।































प्रतिक्रिया