चीनबाट थप ८ लाख डोज कोभिड–१९ विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ।
अघिल्लो हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। त्यसमध्ये ८ लाख डोज खोप बेइजिङले र २ लाख डोज खोप चीनको स्वशासित क्षेत्र तिब्बतले सहयोग गर्ने भएका थिए।
नेपाल वायुसेवा निगमको ‘एयरबस ३३०’ खोप लिनका लागि सोमवार राति बेइजिङ प्रस्थान गरेको थियो। आठ लाख खोपबाहेक तिब्बतले उपलब्ध गराउने भनिएको २ लाख डोज खोपमध्ये ५० हजार ४०० डोज आज बिहान काठमाडौं आइपुगेको हो।
खोपको वितरण एक हप्तादेखि दश दिनभित्र सुरु हुने जानकारी स्वास्थ्य तया जनसंख्या मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
‘६० देखि ६५ वर्षको उमेर समूहलाई लक्षित गरेर खोप वितरण गरिनेछ। यसपालि काठमाडौँ उपत्यका बाहिर खोपको उपलब्धतामा विशेष जोड दिइनेछ,’ उनले थपे।
यसअघि नेपाललाई चीनले ८ लाख डोज अनुदानमा खोप उपलब्ध गराइसकेको छ। यसका साथै चीन नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने राष्ट्र भएको छ।
आइतवार ८०० सिलिण्डर, २०० आइसीयु बेड, ४५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, १५ हजार एन्टिजिन किट, २० अटोमेटेड एनालाइजर, १० डाक्टर मेसिन, २० अल्ट्रासाउण्ड र ३० अनेस्थेसिया मेसिन तातोपानीबाट नेपाल भित्रिएको थियो।































प्रतिक्रिया