‘नयाँ पार्टी खोल्दा दुःख त हुन्छ तर, हामी अघि जान्छौं’: अष्टलक्ष्मी शाक्य

‘नयाँ पार्टी खोल्दा दुःख त हुन्छ तर, हामी अघि जान्छौं’: अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ एमाले विभाजन हुने अवस्थामा छ। जुन वैचारिक सङ्घर्षले होइन। कार्यशैलीको विषयलाई लिएर उत्पन्न विवादले हो।

सोही कारण पार्टीबाट निलम्वित नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी खोल्ने पक्षमा पुगेको छ। अध्यक्ष केपी ओलीसँग नरहने निष्कर्ष छ। तर, सोही पक्षको सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत भने नयाँ पार्टी खोल्न नहुने र ओलीसँग पार्टीमै रहेर अन्तरसङ्घर्ष गरेर जानुपर्ने पक्षमा छन्।

यसबीच पार्टीलाई विभाजनबाट रोक्न ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेल सक्रिय भएका छन्। परिणाम भने सकारात्मक देखिएको छैन। माधव पक्षको पहिलो, तेस्रोसँगै चौंथो तहका नेताहरू अब ओलीलाई नपर्खिने र नयाँ पार्टी खोलेर अगाडि बढ्ने पक्षमा उभिएका छन्।

पहिलो तहकी नेतृ अष्टलक्ष्मी शाक्यसँग ‘के ओलीसँग सँगै रहन सक्ने स्थिति नभएकै हो? नयाँ पार्टी कहिले दर्ता हुन्छ? अनि, नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा हारेर पनि पदका लागि माधवकुमार नेपालले गरेको लडाइँ पनि पार्टी विभाजन नजिक आइपुग्नुको एउटा कारण होइन? जस्ता मूल प्रश्नमा रहेर केन्द्रविन्दुकर्मी जङ्ग तामाङले कुराकानी गरेका छन्।

आजको केन्द्रीय कमिटी बैठकमा छलफल हुने विषय चाहिँ के हो?

राजनीतिक विषयमै हो। पार्टी संकटपूर्ण स्थितिमा छ। यस्तो अवस्थामा केन्द्रीय कमिटी सदस्य कमरेडहरूको विचार र सुझावहरू के–के छन्? सुन्ने र त्यही अनुसार अगाडि बढ्ने भन्ने छ।

मतलब, नयाँ पार्टी खोल्ने कि अध्यक्ष ओलीसँगै अन्तरसङ्घर्ष गरेर जाने भन्न खोज्नु भएको हो?

अध्यक्ष केपी ओली कमरेडलाई धेरै पर्खेर बस्यौं। भरोसा गर्यौं। मिलेर जानुपर्छ। त्यसका लागि २०७५ जेठ २ मा फर्किनुपर्छ भन्यौं। तर, ओलीजीको त्यो मनशाय छैन रहेछ। एकताबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलन समाजवादको गन्तव्यमा पुर्याउन पनि उहाँको चाहना देखिएन। बरु आफ्नै पाराले अगाडि बढेको देखिन्छ। त्यही भएको हुनाले हामीले के भन्यौं भने, अब केपी ओलीलाई धेरै पर्खे बस्नु हुँदैन। नयाँ ढंग र नयाँ सोचका साथ अगाडि जानुपर्छ।

प्रष्ट भन्दा, नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्ने भन्नु भएको हो?

हो। अहिलेसम्म पर्खेर के भयो त? केही भएन। युवा साथी (दोस्रो तहका नेता)हरू लाग्नु भएको छ। उहाँहरूको पनि जोड पार्टी एकतामा केन्द्रित छ। उहाँहरूलाई झुक्याउन खोजेको देखिन्छ। बोलाउँछ्न्, कुरा गर्छन्। झुक्याउछन्। कुनै निष्कर्ष छैन। यस्तो खालको स्थिति छ। 

फेरि, हामीसँग ठूलो शक्ति छ। पार्टी पंक्ति छ। हामी दुई/चार जना मात्रै होइनौं नि। केन्द्रीय कमिटी छ। प्रदेश कमिटीहरू छन्। जिल्ला कमिटीहरू छन्। माया गर्ने जनता छन्।

यति हुँदाहुँदै पनि केपी ओलीले मतलब राखेका छैनन्। यस्तै अवस्था रहे हामी समर्थित नेता कार्यकर्ताहरूको राजनीतिक भविष्य बिग्रिने भयो। 

त्यही भएर हामी अल्मलिएर बस्नु हुँदैन। केपी ओली आफ्नो बाटोमा प्रष्ट हुनुहुन्छ। कहाँ पुग्ने? के गर्ने? प्रष्ट भएर अगाडि बढ्नु भएको छ। हामी पनि प्रष्ट हुनुपर्यो नि होइन र? ओली त लोकतन्त्र कमजोर बनाउन चाहनुहुन्छ। संविधान मिच्न चाहनुहुन्छ। संविधान चाहिँदैन भन्नेमा हुनुहुछ। निरंकुशतर्फ जानु भएको छ।

उसो भए कहिले हुन्छ त नयाँ पार्टी दर्ता?

अहिले यकिन भन्न सकिन्न। तैपनि हामी कति पर्खिने ओलीलाई? पर्खिदा के भयो र? केही भएन। नभएपछि पर्खिनु त भएन। पार्टी खोलेर अगाडि बढ्नुपर्यो। ओलीलाई कति विश्वास गर्ने? अहिलेको उहाँको व्यवहारले त विश्वास गर्न सकिन ठाउँ नै छैन। यसकारण हामी नपर्खिने, सबैलाई समेटेर अगाडि बढ्नेमा छौं।

तर, तपाईंहरूसँग रहेका दोस्रो तहका नेताहरू अन्तरसङ्घर्ष गरेर अगाडि बढ्नुपर्छ र अलग हुनु हुँदैन भन्ने पक्षमा छन् नि, होइन र?

हो। तर, अन्तरसङ्घर्षको अर्थ छैन। अन्तरसङ्घर्ष भनेको के हो? त्यही पार्टीमा रहेर केपी ओलीको विचारसँग छलफल गर्ने कुरा हो। अब हामी त कमिटीमा छैनौं। कारबाही गरेर निकालिएका छौं। पार्टी बाहिर छौं। कुनै कमिटीमा आबद्ध छैनौं।

त्यसैले अन्तरसङ्घर्ष सम्भव छैन। हुन सक्दैन। अर्को कुरा, युवा साथीहरू धेरैबेर अल्मलिएर बस्नु हुँदैन। कति झुक्किएर बस्ने? आशैआशमा बस्नु भएन।

भीम रावललाई ‘बाइपास’ गरिएको छ। रावलजी वार्ता टोली संयोजक हो नि। मनपरी अरुलाई बोलाउने र अनेक कुरा गर्ने अनि झुक्याउने काम भएको छ। त्यस्तो पनि वार्ता हुन्छ? हुँदैन। ओलीजी त ढाँट्ने, छल्ने र स्वेच्छाचारी नेता हो। प्रष्ट कुरा भन्दा, पार्टीलाई बलियो बनाउन कहिल्यै चाहनु भएन। ‘केपी बा’ भन्दा रमाएर बस्न चाहने नेता हो। पार्टीलाई नेतृत्व गर्ने क्षमता पनि छैन। गुटको चाहिँ राम्रो नेता हो।

अब, पार्टी एकताको सम्भावना सकिएकै हो त?

एकताको सम्भावना २०७५ जेठ २ मा फर्किँदा हुन्छ। त्यो भनेको माओवादी केन्द्रसँग एकता गर्नु भन्दा अगाडिदेखि पार्टीलाई चलाऔं भनिएको हो। त्यहाँदेखि पार्टीलाई अगाडि बढाउनु पर्छ। पार्टीको सबै कमिटीहरूलाई क्रियाशील बनाउनुपर्छ। त्यो विन्दुमा आउन ओली तयार हुनुपर्छ। फागुन २८ गते र त्यसपछिका कथित बैठकहरूको निर्णयहरू खारेज गर्नुपर्छ।

त्यति भएपछि त तपाईंले अघि भन्नु भएजस्तो अन्तरसङ्घर्ष गर्न सकिन्छ। तर, ओली त्यहाँ फर्किन चाहनु भएको छैन। हामीलाई फागुन २८ मा पदाधिकारीबाट निकाल्नुभयो। अनि, पार्टीमा जे गरे पनि सहने त हुँदैन हामीले।

तर, एउटा सत्य के हो भने, पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा पराजित भएर पनि नेता माधवकुमार नेपालले पद त खोज्नु भएको पक्का हो। समस्याको जडमध्ये त्यो पनि एक होइन र? अहिले अध्यक्ष ओलीले पनि पदीय स्वार्थको संघर्ष भन्नु भएको छ।

महाधिवेशनमा प्यानल भएपछि एउटाले जित्ने र अर्कोले हार्ने हुन्छ त। नहुने भन्ने हुन्छ? थोरै मतले माधवकुमार नेपाल हार्नुभयो। ओलीले जित्नुभयो। त्यसपछि हामीले भन्यौं,–ठीक छ, तपाईंलाई हामीले भोट हालेनौं तर, तपाईं त हामी सबैको नेता हो नि त। त्यसो भएकोले हामीले पनि साथ दिने हो। मिलेर जानुपर्छ। साथ दिन्छौं, तपाईं सफल हुनुपर्छ भनेकै हो। तर, उहाँ त बदला पो लिनु हुन्छ। 

जे भए पनि तपाईंहरू नयाँ पार्टी खोलेर जाने निष्कर्षमा पुग्नुभयो। नयाँ पार्टी खोलेर जनतामा जान दुःख हुँदैन? 

हुन्छ। गाह्रो हुन्छ। यत्रो उमेरसम्म एमालेमा दुःख गरेकै हो। एमाले पार्टी निर्माणमा दुःख र त्याग दशकौंदेखि गरेर आइयो। जेलनेल भोगियो। यस्तो दुःख र त्याग गर्ने ठूलो पंक्ति छ। यो पंक्तिको योगदान पार्टी निर्माण छ। त्यसो भएकोले हामीलाई चिन्ता हुँदैन? बालबच्चा छोडेर पार्टी निर्माणमा हिँडियो। घरमा छोड्यौं। ओलीले मात्रै योगदान गर्नु भएको हो र? त्यस्तो त होइन। थाहा छ, नयाँ पार्टी खोल्दा दुःख त लाग्छ बेस्सरी। तर, पनि जानुपर्छ अगाडि।

Logo