‘भदौमै महाधिवेशन गर्ने मानसिकतामा छौं’: डा. प्रकाशरण महत (सह-महामन्त्री, नेपाली कांग्रेस)

‘भदौमै महाधिवेशन गर्ने मानसिकतामा छौं’: डा. प्रकाशरण महत (सह-महामन्त्री, नेपाली कांग्रेस)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस आउने भदौमा १४ औं महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ। महाधिवेशन गरेर २३ भदौसम्ममा निर्वाचन आयोगलाई नयाँ नेतृत्वसहितको समितिबारे जानकारी दिनुपर्छ। यो संवैधानिक बाध्यता कांग्रेससामु छ।

महाधिवेशन नभए कांग्रेस पार्टीको ‘वैधानिकता’ समाप्त हुनेछ। त्यही भएर महाधिवेशन जसरी पनि गर्ने भनेर अगाडि बढेको कांग्रेसको महाधिवेशन तयारीको बाधक भने कोभिड–१९ भएको छ।

अर्कोतिर जिल्लाजिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवाद पनि छ। सोही कारण महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार सदस्यता वितरण र नवीकरणको काम भइरहेको छैन। जुन महाधिवेशन अगाडिको महत्वपूर्ण काम हो।

यही जेठ १५ सम्म १०१ स्थानको क्रियाशील सदस्यको नामावली कांग्रेसले सार्वजनिक गरेको छ। १०६ स्थानको विवरण आएकै छैन। यही जेठ २५ गते राति १२ बजेसम्ममा विवरण पठाउन क्रियाशील सदस्यता वितरण तथा छानविन समितिले निर्देशन दिइसकेको छ।

यस्तो अवस्थामा, के १४ औं महाधिवेशन हुन्छ? हुँदा कि १३ औं महाधिवेशन प्रतिनिधिबाट हुन्छ? अनि, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम नै नभएको सिन्धुपाल्चोक, बर्दियालगायत जिल्लालाई महाधिवेशनमा कसरी समेट्न सकिन्छ? र महाधिवेशनमा प्रतिनिधिहरूको भौतिक उपस्थिति नै हुन्छ? यिनै सवालहरूमा केन्द्रित रहेर केन्द्रविन्दुकर्मी जङ्ग तामाङले कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेका छन्।

क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अझै बाँकी छ। फेरि कोभिडको महामारी पनि छ। अवस्था यस्तो रहँदा भदौमा पार्टीको १४ औं महाधिवेशन हुन्छ?

धेरै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम टुङ्गो लागिसकेको छ। थोरै बाँकी छ। वडामा चाहिँ ती काम गर्न कोभिड महामारी र त्यसपछिको बन्दाबन्दीले असर गरेको छ।

तैपनि सभापति (शेरबहादुर देउवा) ज्यू भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नेमा कटिबद्ध हुनुहुन्छ। त्यही किसिमले तयारी गर्न हामीलाई निर्देशन दिनु भएको छ। वडामा गर्नुपर्ने क्रियाशील सदस्यता वितरण र नवीकरणकै काम हो। कोभिडले प्रभावित भएको हुँदा त्यसबारे के गर्ने भन्ने विषय पार्टी बैठक बसेर टुङ्ग्याउँछौं।

उसो भए नयाँ क्रियाशील सदस्य र नवीकरण गरेका सदस्यबाटै महाधिवेशन हुन्छ?

हुने नै त्यही त हो। नयाँ करिब ८ लाख सदस्य छन्। छानविन समितिले छानविनको काम गरिरहेको छ।

केही नयाँ सदस्यता प्राप्त गरेकाहरूविरुद्ध समितिमा उजुरी परेका छन्। परेका उजुरीमाथि छानविन गर्ने हो समितिले, चाँडै टुङ्ग्याउला पनि ।

फेरि कोभिडको महामारी कसरी जान्छ भन्नेले पनि निर्भर गर्छ, महाधिवेशनको अन्य तयारीको काम । यसो हुँदाहुँदै पनि हामी भदौमा तय भएको महाधिवेशनको मिति फेरि नफेर्ने मानसिकतामा छौं। त्यसबीचमा गर्नुपर्ने काम नभए त्यसलाई कसरी ‘एड्जस्ट’ गर्ने विषयमा पनि पार्टीले निर्णय लिनेछ।

तर, सिन्धुपाल्चोक, बर्दिया, सुर्खेतलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको डल्लै काम बाँकी छ। जबकि, क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण पठाउने समयसीमा यही जेठ २५ गतेसम्म छानविन समितिले तोकेको छ। विवरण आइसक्ने छाँट छैन। त्यसो हुँदा ती जिल्लाहरूलाई महाधिवेशनमा कसरी सम्बोधन गर्ने होला?

तपाईंले भन्नु भएको जिल्लाहरूमा ‘सभापतिले काम गर्नु भएन’ भनेका छन्। समस्या देखिएको छ। हेरौं, केही न केही व्यवस्थापन त होला। त्यसै त हुँदैन। पार्टी बैठकले त्यसबारे पनि केही निर्णय लिन्छ नै।

पार्टी महाधिवेशनको महत्वपूर्ण काम भनेकै क्रियाशील सदस्यता वितरण र नवीकरण नै हो। यही काम निर्धारित कार्यतालिकाअनुसार भइरहेको छैन। यी अवस्था रहँदा १३ औं महाधिवेशनका महाधिवेन प्रतिनिधिबाट १४ औं महाधिवेशन गर्ने विकल्पबारे पनि कांग्रेसमा छलफल भइरहेको हो?

छैन, छैन। त्यस्तो केही छैन। १४ औं महाधिवेशन गर्ने भएपछि त क्रियाशील सदस्यता पनि १४ औं कै चाहियो नि। महाधिवेशन प्रतिनिधि पनि १४ औं कै चाहियो नि। नयाँ सदस्यहरू आएका छन्। उनीहरूको सहभागिताविना महाधिवेशन गर्नु हुँदैन। मिल्दैन पनि। त्यसो भएकाले विकल्प खोज्नेबारे कुनै कुरा भएको छैन।

महाधिवेशनमा प्रतिनिधिहरू भौतिक रूपमा उपस्थित हुन्छन् कि कुनै विकल्प हुन्छ?
कोभिडको महामारी नियन्त्रण भयो भने भौतिकरूपमा उपस्थिति हुने होला। भएन भने केही विकल्प सोचिएला। त्यो पनि पार्टी केन्द्रीय समिति बैठकले त्यसबेला के ठान्छ, त्यही निर्णय गर्छ। मैले अहिले भनेर हुने होइन। 

Logo