नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली, झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव, ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका छन्।
नेता भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको समेत बताए।
त्यसो त अहिले एमालेको ओली पक्ष जसपासँग र माधव झलनाथ पक्ष कांग्रेस–माओवादीसँग मिलेर पार्टीभित्र बाहिर विद्रोह गरिरहेका छन्।
पार्टीमा लामो समयदेखि आन्तरिक टकराव, कलह र मनमुटाव जारी छ। माधव पक्षमा खुलेर लागेका भट्टराई पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि प्रयासरत देखिन्छन्।
सोहि क्रममा भट्टराईले आज सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
भट्टराईले भनेका छनः– कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।
कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के का लागि गर्दैछ यो सबै?
नेता भट्टराईले यस विषयमा शीर्ष नेताबीच गम्भीर छलफल भएर साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन आग्रहसमेत गरेका छन् ।































प्रतिक्रिया