बङ्गलादेशबाट आइपुग्यो ३२ हजार ५ सय मेट्रिकटन मल

बङ्गलादेशबाट आइपुग्यो ३२ हजार ५ सय मेट्रिकटन मल

केन्द्रबिन्दु
0
Shares

बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो। 

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले राससलाई बताए। बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा आउने छन्।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रवन्धक केसीले बताए। उनका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ। नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ। मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ। 

पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ। सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ। 

विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ। कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने माग किसानको छ। 

पर्सामा ९० प्रतिशत किसान व्यवसायिकरुपमा धान खेती गर्दै आएका छन्। पर्सामा कूल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

Skip This
Skip This
Logo