भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएका छन् ।
लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो ।
त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।
१८ हात्तीको कोरोना परीक्षण
भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ। जनावरहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो।
दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्।
परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।
परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए ।
त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए।





























प्रतिक्रिया