कालिकोटमा सहुलियतको चामल लिन खाद्य कम्पनीमा घुइँचो

कालिकोटमा सहुलियतको चामल लिन खाद्य कम्पनीमा घुइँचो

केन्द्रबिन्दु
0
Shares

सरकारले निषेधाज्ञा अवधिभरि खाद्यान्नको चामलमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा चामल लिनेको भीड लाग्ने गरेको छ। एक महिनादेखि निषेधाज्ञा झेलिरहेका विपन्न नागरिकहरु जीविकोपार्जनमा समस्या भएपछि चामल लिनेको भीड लागेको हो।

कालिकोटमा खाद्य संस्थानले नुन र चामलमा २० प्रतिशत छुट दिएका कारण गाउँदेखि विपन्न नागरिकहरु दैनिक ३ सयको हाराहारीमा कम्पनीको कार्यालयमा आउने गरेका छन्।

कोरोनाका कारण पीडित भएका नागरिकहरु गाउँ गाउँदेखि सहुलियतको चामल र नुन लिन आउने गरेको कम्पनीको कालिकोट शाखा प्रमुख शरण लामिछानेले बताए।  

“दैनिक ७६ क्विन्टलदेखि १०० क्विन्टल चामल बिक्री हुने गरेको छ”, उनले भने, “काम गर्न नपाएका विपन्न नागरिकले अहिले सहुलियतको चामल धमाधम लिन थालेका छन्।”

सोमबारसम्म मान्म शाखामा १ हजार ३ सय, पादमघाट डिपोमा ४ सय २३, खल्लागाडमा १ सय १०, थिर्पूमा ८६ क्विन्टल चामल मौज्दात रहेको कम्पनीको कार्यालयले जनाएको छ।

त्यस्तै, सरकारले कर्णालीका बासिन्दाका लागि लागू गरेको जन्म, मरण संस्कारको चामल कालीकोटमा बढी खपत हुने गरेको छ । सरकारले कर्णालीका हिमाली जिल्लामा जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेको छ।

कम्पनीले ढुवानी ज्यालासहित यो वर्ष २ सय ७० क्विन्टल चामल जन्म र मृत्यु संस्कारमा वितरण गरेको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जन्मबापत १ हजार ४ सय ५२ जनाले २० किलोको दरले २ सय ९० क्विन्टल र मृत्युबापत ४७ जनाले ९ क्विन्टल चामल पाएका छन्।रासस

Skip This
Skip This
Logo