कोरोना हटस्पट बन्दै बैंकिङ क्षेत्रः लापरबाहीले बढ्यो संक्रमण

कोरोना हटस्पट बन्दै बैंकिङ क्षेत्रः लापरबाहीले बढ्यो संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणबाट अहिले कुनै पनि स्थान अछुतो छैन । जसको चपेटामा अहिले बैंकिङ क्षेत्र पनि परेको छ । अत्याश्वक सेवा भएकाले पनि लकडाउन तथा निशेषधाज्ञाका बखत पनि बैंक तथा वित्तीय संस्थाहरु प्रायः खुला नै रहे । सरकारले कोरोना न्यूनिकरणका लागि गत चैत ११ गतेदेखि विभिन्न चरणमा लकडाउन तथा निषेधाज्ञा गरेको थियो ।

यस बेला मुलुकका अधिकांश उद्योग व्यवसाय पूर्ण रुपमा बन्द थिए । तर बैंक तथा वित्तीय संस्थाहरु भने निर्वाध रुपमा संचालन भइरहे । कोरोनाको संक्रमण सुरु भएका बेला नेपाल राष्ट्र बैंकले जतिसक्यो डिजिटल कारोबार गर्न सम्पूर्ण ग्राहक र बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल कारोबार गराउन आग्रह गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा डिजिटल कारोबार पनि गराए । तर पनि बैंकिङ क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो समय अधिकांश बैंकका कर्मचारीहरु कोरोनाबाट संक्रमित भएका छन् । यस अवधीमा सार्वजनिक सेवा क्षेत्रका संघ संस्थाहरुमध्ये बैंक तथा वित्तीय कम्पनीहरुमा सबैभन्दा बढी कोरोना संक्रमण बढिरहेको देखिएको छ । बैंकिङ क्षेत्रमा करिब ३ हजारको हाराहारीमा कर्मचारीहरु संक्रमित भएका छन् ।

सरकारले गरेको लकडाउनभर बैंकिङ क्षेत्रका केही कर्मचारीहरु मात्रै संक्रमित भएकोमा लकडाउन खुलेसँगै बैंकमा सर्वसाधाणरको उपस्थिति बढेकाले कोरोना संक्रमण पनि बढेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको अवस्थामा बैंकमा भीडभाड हुँदा बैंकिङ क्षेत्रमा कोरोना संक्रमण बढेको बताए । सानो त्रुटी हुँदा पनि कोरोना संक्रमण हुन सक्ने जोखिम भएको अध्यक्ष दाहालको भनाइ छ । बैंकिङ कारोबार गर्दा अधिकांश सेवा डिजिटलमार्फत् प्रयोग गर्न सकिने विभिन्न विकल्पहरु रहेका छन् । तर ग्राहकले त्यसको प्रयोग नगरी बैंकको काउण्टर नै पुग्ने गरेकाले पनि बैंकमा संक्रमण बढेको बैंकर्स बताउँछन् । पछिल्लो समय नयाँ डिम्याट खाता खोल्नेको संख्या पनि ह्वातै बढेको छ । अहिले बैंकमा अन्य कारोबारका साथै डिम्याट खाता खोल्ने तथा सेयर भर्नेको भीड लाग्ने गरेको बैंकको भनाइ छ । जसका कारण यस क्षेत्रमा संक्रमण बढेको बैंकर्सको दाबी छ ।

सर्वसाधारण बैंकमा आउँदा स्वभाविक रुपमा भीडभाड बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले संयम अपनाउनुपथ्र्याे । तर बैंकका कर्मचारीहरु आफै संयम तथा सुरक्षित हुन नसकेकाले बैकिङ क्षेत्रमा कोरोना संक्रमणको दर बढेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । बैंकहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाए पनि सामाजिक दूरी कायम नगरेकाले कोरोना संक्रमण बढेको सहायक प्रवक्ता पोखरेलको भनाइ छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा कोरोनाको सक्रमण बढेपनि भीडभाड भने कम भएको छैन । जसले गर्दा झन जोखिम बढ्दो छ ।

राष्ट्र बैंक पनि कोरोनाबाट आतंकित

कोरोना संक्रमणका कारण राष्ट्र बैंक पनि आतंकित बनेको छ । अहिले राष्ट्र बैंकका उच्च अधिकारी सहित १ सय ५५ जनाभन्दा बढी कोरोना संक्रमित भएका छन् । राष्ट्र बैंक काठमाडौंको बालुवाटार तथा दरबारमार्ग कार्यालय गरी विभिन्न १० वटा विभागका कर्मचारीमा कोरोना पुष्टि भएको छ । यसअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका थिए । साथै डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि संक्रमित भएका कारण अहिले उपचार गराइरहेका छन् । योसँगै राष्ट्र बैंकका कार्यकारी निर्देशक लगायत विभिन्न विभागका कर्मचारीहरु संक्रमित भएको राष्ट्र बैंकले जनाएको छ । गत आइतबार मात्रै राष्ट्र बैंकका १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार कोरोना पुष्टि भएका कर्मचारीहरु भने राष्ट्र बैंक गभर्नर कार्यालय ,बैंकिङ विभाग, मुद्रा व्यवस्थापन विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, मानव संसाधन तथा व्यवस्थापन विभाग, कर्पोरेट प्लानिङ विभाग, आइटी विभाग लगायतका विभागका रहेको राष्ट्र बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo