हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
आजका समाचारहरु मध्ये सरकारले बजेटमार्फत उपभोक्तालाई निषेधाज्ञा अवधिमा सहजताको लागि खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो। तर, उक्त घोषणा उपभोक्ताकै लागि जोखिम र हैरानी बनेको छ। निषेधाज्ञाबीच साल्ट ट्रेडिङ र खाद्य कम्पनीका आ–आफ्नै बिक्रीकक्षमा पुग्न उपभोक्ता असक्षम छन् नै, अर्कातर्फ नागरिकताको प्रतिलिपि र परिवारसंख्याको झन्झटीलो प्रक्रियाले उपभोक्ता निरास छन्। यति मात्र नभएर दिनको दुई घण्टा मात्र खोलिने बिक्रीकक्षमा उपभोक्ता लाइन लागेर रित्तो हात फर्किनु परेको छ भने, दुई घण्टामा कति उपभोक्ताले सेवा पाइरहेका होलान् यो आफैंमा प्रश्न बनेको छ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेकी हुन्। यो लगत्तै गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न प्रदेश प्रमुखसमक्ष पुगेका छन्।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गर्नुपर्ने धारणा राखेका छन् । यस्तै बैठकमा जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको निन्दा समेत गरिएको बैठकमा उपस्थित नेताहरूले बताएका छन्। आजको बैठकमा अन्य दलहरू उपस्थित रहेपनि सत्तापक्षीय नेकपा एमाले र सत्तापक्षिय जसपा भने उपस्थित थिएन।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । अध्यादेशविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेताहरु रुष्ट बनेका हुन्। सर्वोच्चको यो निर्णयसँगै पुनः नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनु परिरहेको अध्यक्ष ठाकुरको भनाइ छ।
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ। आजको खेल नेपालका लागि कठिन मानिएको छ। फुटबलकै अर्को प्रसंगमा आजबाट मिनी विश्वकप भनिने युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो।































प्रतिक्रिया