कोरोना भाइरस महामारीका कारण गतवर्ष स्थगित भएको युरो कप २०२० फुटबल प्रतियोगिता ११ जुन शुक्रबारदेखि सुरु भएको छ। शुक्रबार इटालीको राजधानी रोममा भएका उदघाटन खेलमा इटाली र टर्किबीच प्रतिस्पर्धा भएको थियो । जसमा इटालीले टर्किलाई ३–० ले पराजित गर्यो। मिनी विश्वकप भनिने गरेको युरोपियन च्याम्पियनसिपको यो १६ औ संस्करण हो। अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो।
युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा बाँडिएको छ । जसमा समूह ए मा टर्की, इटली, वेल्स र स्वीजरल्यान्ड रहेका छन्, यस्तै समूह बी मा डेनमार्क, फिनल्यान्ड, बेल्जियम र रुस छन् । समूह सी मा नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया र उत्तरी मेसिडोनिया रहेका छन् भने, समूह डी मा इङ्ल्यान्ड, क्रोयसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन्। त्यस्तै, समूह ई मा स्पेन, स्विडेन, पोल्यान्ड र स्लोभाकिया छन् भने समूह एफ मा हङ्गेरी, पोर्चुगल, फ्रान्स र जर्मनी रहेका छन् ।
हरेक समूहबाट दुई टिम दोस्रो चरणमा सोझै छनोट हुनेछन् । समूहमा तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट चार टिम अन्तिम १६ मा जानेछन् । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् । प्रतियोगितामा कुल ५१ खेल हुनेछन् । ११ जुनदेखि सुरु भएको यस प्रतियोगिताको नकआउट चरणका खेलहरू भने, २६ जुनदेखि सुरु हुनेछन् ।
सन् १९६० मा फ्रान्सबाट युरोकप प्रतियोगिता सुरु भएको थियो । आयोजनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यस पटकको युरोकप विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना हुँदैछ । यति धेरै देश एकै संस्करणमा आयोजक बनेको यो इतिहासमै पहिलो पटक हो । उद्घाटनको खेल इटलीको रोमस्थित ओलम्पिक रंगशालामा भएको थियो भने समापन इंग्ल्याण्डको वेम्वलीमा हुनेछ ।
कहाँ–कहाँ प्रतियोगिता आयोजना हुँदैछ ?
प्रतियोगिताका खेलहरू लन्डन, सेन्ट पिटर्सवर्ग, बाकु, म्युनिख, रोम, एम्स्टरड्याम, बुचारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लासगो र सेभियामा सञ्चालन हुनेछन् । यस्तै कोभिड– १९ का कारण रंगशालामा दर्शक अनुमति नदिइरहेको अवस्थामा युरोकपमा भने ११ वटै रंगशालालाई दर्शक राख्ने अनुमति दिइएको छ तर रंगशालामा सीमित दर्शकले मात्र खेल हेर्न पाउनेछन्।
यूईएफएका अनुसार, सेन्ट पिटर्सवर्ग र बाकु सहरका रङ्गशालामा कुल क्षमताको ५० प्रतिशतसम्म दर्शक राख्न पाइनेछ । बुडापेस्टले रङ्गशाला भरिनेगरी दर्शक राख्ने लक्ष्य राखेको छ । एम्स्टरड्याम, बुचारेस्ट, कोपेनहेगन, ग्लासगो, रोम र सेभियाले २५ देखि ४५ प्रतिशतसम्म दर्शकहरू राख्दैछन् । लन्डनले कम्तीमा २५ प्रतिशत तथा म्युनिखले झन्डै २२ प्रतिशत दर्शक राख्ने लक्ष्य राखेको छ।
यस्ता छन् युरोकप खेल हुने रंगशालाहरु:
वेम्बली रंगशाला, लन्डन
इङ्ल्याण्डको लन्डनमा रहेको वेम्बली रंगशाला सन् २००७ मा स्थापना भएको रंगशाला हो । वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ । यस रंगशालामा इङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमको घरेलु खेलहरु तथा एफए कपको फाइनल लगायतका प्रमुख फुटबल खेलहरु आयोजना हुने गर्दछन्।
वेम्बली रंगशालामा युरोकपका समूह चरणका तीन खेल, यस्तै अन्तिम १६ का दुई तथा दुवै सेमिफाइनल र फाइनल गरी कुल आठ खेल सञ्चालन हुनेछन् । यस रंगशालामा समूह डीका तीन खेल हुनेछन् ।
सेन्ट पिट्र्सबर्ग रंगशाला, सेन्ट पिट्सबर्ग
सेन्ट पिट्र्सबर्ग रंगशाला रसियाको शहर सेन्ट पिट्सबर्गमा रहेको रंगशाला हो । यो रंगशाला सन् २०१७ मा स्थापना भएको थियो । ५६ हजार दर्शक क्षमता रहेको सेन्ट पिट्सबर्ग रंगशालामा युरोकपका समूह चरणमा दुई समूहका तीन÷तीन र एक क्वार्टरफाइनल गरी सात खेल आयोजना हुनेछ। यो रंगशालामा समूह बी र समूह ईका समान तीन खेल हुनेछन् ।
स्टाडियो ओलिम्पिकको रंगशाला, रोम
रोममा अवस्थित स्टाडियो ओलिम्पिकको रंगशाला सन् १९५३ मा स्थापना भएको रंगशाला हो । स्टाडियोको दर्शक क्षमता ७० हजार रहेको छ । यो रंगशाला रोम र लाजिओ फुटबल क्लबको घरेलू मैदान हो । सन् १९९० मा फिफा वल्र्डकपको लागि यस रंगशाला पुननिर्मण गरिएको थियो । र सोही वर्ष रोमले यसै रंगशालामा वल्र्डकप फाइनल पनि होस्ट गरेको थियो ।
स्टाडियो रंगशालामा युरोकपको इटाली र टर्कीबीचको उद्घाटन खेल भएको थियो । यस्तै यही रंगशालामा समूह चरणअन्तर्गत समूह एका अन्य दुई खेल र एक क्वार्टरफाइनल गरी चार खेल सञ्चालन हुनेछन् ।
ओलम्पिक स्टेडिम, सेभिल
सन् १९९९ मा स्थापना भएको स्पेनको सेभिलस्थित ओलम्पिक स्टेडियमले युरोकपका समूह ईका तीन र अन्तिम १६ को एक खेल गरी कुल चार खेलको आयोजना गर्दैछ। यस रंगशालाको दर्शक क्षमता भने ६० हजार रहेको छ ।
पारकेन, कोपेनहेगन
डेनमार्कको राजधानी कोपनहेगनस्थित पारकेन रंगशाला सन् १९९२ मा स्थापना भएको हो । ३८ हजार दर्शक क्षमता भएको पारकेन रंगशाला युरोकप आयोजना हुने सबैभन्दा सानो रंगशाला हो । यस रंगशालामा युरोकपको समूह बीका तीन र अन्तिम १६ कोे एक खेल गरी चार खेल आयोजना हुँदैछ ।
एलिनाज एरेना, म्युनिख
सन् २००५ मा स्थापना भएको जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा युरोकपअन्तर्गत समूह चरणका तीन र एक क्वार्टरफाइनल गरी कुल चार खेल आयोजना हुँदैछ । यस रंगशालामा समूह एफका तीन खेल हुनेछन् । एलिनाज ऐरेना रंगशालाको दर्शक क्षमता ७५ हजार रहेको छ।
पुस्कास रंगशाला, बुडापेस्ट
हंगेरीको राजधानी बुडापेस्टस्थित पुस्कास रंगशाला सन् २०१९ मा स्थापना भएको थियो। यस रंगशालामा युरोकपका समूह एफका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछन्। यस रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ।
बाकु ओलम्पिक स्टेडियम, बाकु
अजरबैजानको राजधानी बाकुस्थित बाकु ओलम्पिक स्टेडियममा समूह ए का तीन र एक क्वार्टरफाइनलको खेल गरी युरोकपका चार खेल आयोजना हुँदैछ। सन् २०१५ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार रहेको छ।
एरेना नेस्नोला, बुखारेस्ट
रोमानियाको राजधानी बुखारेस्टमा रहेको एरेना नेस्नोला रंगशाला सन् २०११ बाट सञ्चालनमा आएको हो । ५६ हजार दर्शक क्षमता रहेको यस रंगशालामा युरोकपको समूह सी का तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछन्।
हाम्पाडेनपार्क, ग्लोस्गो
स्कटल्याण्डको ग्लोस्गोस्थित हाम्पाडेन पार्क रंगशाला सन् १९०३ मा स्थापना भएको हो । ५२ हजार दर्शक क्षमता रहेको यो रंगशालामा युरोकपका समूह डी का तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ ।
योहान क्रुफ एरेना, आम्स्ट्रडम
सन् १९९६ मा स्थापना भएको आम्स्ट्रडमस्थित योहान क्रुफ रंगशालामा युरो कपका समूह सी का तीन र अन्तिम १६ को एक खेल आयोजना हुँदैछ । यो रंगशालाको दर्शक क्षमता ५४ हजार रहेको छ ।
कुन शहर आयोजनाबाट विमुख भए ?
रङ्गशालामा कति दर्शक छिराउने भनेर ग्यारेन्टी दिन अस्वीकार गरेपछि रिपब्लिक अफ आयरल्याण्डको राजधानी डुब्लिन र स्पेनको शहर बिल्बाओ आयोजनाबाट विमुख भए । बिल्बाओको साटो सेभियाले खेल आयोजना गर्ने भएको हो । यता डुब्लिनका लागि तय भएका खेलहरू लन्डन र सेन्ट पिटर्सवर्गमा सरेको हो ।































प्रतिक्रिया