चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा २३.८ प्रतिशतले बढेको छ। सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो जनाएको छ।
अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ।
यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको छ।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। ०७७ बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशत, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा २०.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.४ प्रतिशत, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशत बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्षको १० महिनामा वस्तु आयात र निर्यात दुवैमा वृद्धि
चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले जनाएको छ।
त्यस्तै आयात पनि २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो। आर्थिक वर्षको सुरुवातमा अत्याधिक बचतमा रहेको शोधानान्तर वर्षको अन्त्यमा आएर कम हुन थालेको छ।
आयात बढ्न थालेका कारण शोधानान्तर बचतको रकम घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार शोधानान्तर ७ अर्ब रुपैयाँले बचतमा रहेको छ। ९ महिनामा शोधानान्तर ४२ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो। एक महिनामा नै शोधानान्तर बचत ३५ अर्ब रुपैयाँले घटेको छ।
चालु खाता घाटा २ खर्ब ४७ अर्बले रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी १४ अर्ब ८ करोड कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ।
व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भएको छ।सार्वजनिक १० महिनाको वित्तीय तथ्यांकअनुसार गत वैशाख महिनासम्म वस्तुगत व्यापारघाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात, आयात अनुपात ८.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो।





























प्रतिक्रिया