कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च, पर्वतको सेतीवेणी बजार डुबानमा

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च, पर्वतको सेतीवेणी बजार डुबानमा

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो। 

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। 

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन्। “पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचनासमेत डुबाएको छ”, पराजुलीले भने। बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्णरुपमा क्षति पुगेको उनले बताए। पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए। कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो।


  
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो। सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन्। 

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए। विसं. २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए। कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए।रासस 

Skip This
Skip This
Logo