यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीय तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पिपिई, सेनीटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। अमेरिकन मेडिकल, फाउन्डेशन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले थप गरी नुवाकोटका स्थानीय तहलाई दिइएको ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसीले जानकारी दिए। कोभिड १९ सँग लड्नका लागि आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्रीहरु पनि हस्तान्तरण गरिंदै जाने उनले बताए।
ट्रष्टले दुप्चेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ४ थान, मास्क एक हजार थान, पिपिइ १५ थान र एन ९५ मास्क १०० थान, बेलकोटगढी नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर ६ थान, मास्क पाँच हजार थान, सुर्यगडी गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क १ हजार पाँच सय थान र तारकेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान दिएको छ।
त्यसैगरी किस्पाङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान, म्यागङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ६ हजार थान, सेनिटाइजर १० लिटर, पिपिइ २२ थान, तादि गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर १ थान, मास्क २ हजार थान, पिपिइ ५ थान हस्तान्तरण गरेको छ।
ट्रष्टले त्रिशुली अस्पतालमा मास्क ५ हजार थान, एन ९५ मास्क २०० थान, सेनिटाइजर २० लिटर, आइसियु बेड २ थान, देउराली स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क ४ हजार पाँच सय थान, एन९५ १५० थान र सेनिटाइजर १० लिटर, खरानीटार स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क २ हजार पाँच सय थान, एन ९५ मास्क १५० थान, सेनिटाइजर ५० लिटर, ककनी स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान र नेपाल आर्मी त्रिशुलीलाई शव व्यवस्थापनको प्रयोजनार्थ आइसियुमा प्रयोग हुने चस्मा ४५ थान दिइएको जनाएको छ ।
ट्रष्टका संरक्षक अर्जुन नरसिंह केसीले उपलब्ध गराईएको स्वास्थ्य सामग्री सही ठाउँमा प्रयोग गर्न आग्रह गरे। उनले विगतमा पनि ट्रष्टले अप्ठ्यारो परिस्थितिमा नुवाकोटका जनतालाई सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
ट्रष्टले यसअघि भूकम्पको बेलामा र कोरोना संक्रमणको पहिलो लहरमा पनि नुवाकोटका जनतालाई आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको बताएको छ। ट्रष्टले गरेको स्वास्थ्य सामग्री वितरणलाई केहीले सामाजिक सञ्जालमार्फत् अर्नगल प्रचार गरिराखेको भन्दै ट्रष्टले मानवीय सेवा भावका साथ सहयोग गरिरहेको जनाएको छ। ट्रष्टले गरेको सेवा भावलाई राजनीतिक रंग नदिन पनि ट्रष्टले आग्रह गरेको छ।































प्रतिक्रिया