विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा, कसको तयारी कस्तो?

विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा, कसको तयारी कस्तो?

केन्द्रबिन्दु
0
Shares

मनसुनमा आइ पर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यसवर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको बताएका हुन्। पूर्वतयारी, उद्दार, पुनर्स्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको बताए।

नेपाली सेना
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिसकेको बताए। विपदका घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए। ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट १ तिहाईको जनशक्ति फौजलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। 

खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने उनले बताए। नेपाली सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट भएको उल्लेख गर्दै उनले ती युनिटलाई विपदको समयमा परिचालन गरिने जानकारी दिए। जलसम्बन्धी उद्दारका लागि २०० वटा बोटहरु तयारी अवस्थामा राखिएको पनि उनले बताए। 

विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिमको सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताए। विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको पनि उनको भनाइ छ। 

नेपाली सेनालाई उद्दारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उनले बताए। साथै सेनालाई कोभिड–१९ विरुद्धको खोपमा पनि जोड दिने उनले बताए। हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको पनि उनले जानकारी दिए।

सशस्त्र प्रहरी वल
त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपदको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ। सशस्त्र प्रहरी वलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पुरा गरिसकेको जानकारी दिए। केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनले बताए। खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरिएको उनले स्पष्ट पारे। 

सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएका जनशक्ति १९१८ जना रहेको भन्दै उनले सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समूह, उपत्यकामा दुईवटा र विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरि १० वटा समूह परिचालन गरिने उनले बताए। त्यसका साथै उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरुमा पनि विपद व्यवस्थापनको लागि समूह तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। 

तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ। डुवानको अवस्थामा उद्दारका लागि ७० वटा बोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनका लागि १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको उनले बताए। राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए।

नेपाल प्रहरी
नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले विपदको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए। प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडि बढाइसकिएको उनले जानकारी दिए। विपदको समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने उनले स्पष्ट पारे। 

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपद प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए। स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायहरुसँग समन्वय गरिरहेको उनले जानकारी दिए। मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रीत गरेको पनि प्रवक्ता कुँवरले बताए। 

Skip This
Skip This
Logo