कोभिड-१९ पछि फेरिएको नेपालको बैंकिङ क्षेत्र

कोभिड-१९ पछि फेरिएको नेपालको बैंकिङ क्षेत्र

केन्द्रबिन्दु
0
Shares

नेपालको अहिलेको परिदृश्य मुटु पोल्ने खालको छ। महामारीको आगो दन्किँदै गर्दा बिरामीको चापले अस्पतालमा बेड, भेन्टिलेटर र अक्सिजनको ठूलो अभाव छ। मुलुकमा दुई महिनाअघि १ हजार ५ सय कोरोनाका सक्रिय संक्रमित रहेकामा मे महिनाको अन्त्यसम्ममा यो संख्या सय गुणाले बढेर १ लाख ५० हजार पुगेको थियो। यस्तो वृद्धिलाई हेर्दा भारतकै स्थिति नेपालमा पुनरावृत्ति भएको भान हुन्छ। मेरो देश यति निरीह भएको भान वर्षौंसम्म पनि स्थिति सामान्य नहुने गरी असर गरेको सन् २०१५ को भूकम्पपछि पनि भएको थिएन। 

कोभिड–१९ महामारी नेपाली जनताका लागि घातक साबित भएको छ। कोभिडले असर पुर्याएका १० हजार स्वास्थ्यकर्मी र ९ हजार सुरक्षाकर्मीले अहिले पनि आफ्नो कर्तव्य छाडेका छैनन्। तर, मलाई बैंकका कर्मचारीलाई कोभिडबाट हुने खतराले सबैभन्दा बढी चिन्तित बनायो। मेरा धेरै साथीहरू बैंकमा कार्यरत भएकाले पनि चिन्तित बनाएको हो। 

नेपालको बैंकिङ क्षेत्रमा ५० हजारको हाराहारीमा कर्मचारी कार्यरत छन्। सन् २०२१ को मार्चसम्म चलेको कोरोना महामारीको पहिलो लहरमा ८ हजार बैंक कर्मचारी कोरोना संक्रमित भएका थिए। चिनजानमा रहेका बैंक कर्मचारीले मलाई बताएअनुसार दोस्रो लहरमा काम गर्न झनै कठिन छ। बैंकहरूको छाता संगठन नेपाल बैंकर्स असोसिएसनका अनुसार मे महिनाको हन्तिमसम्ममा ४ हजार ५ सय ४८ बैंक कर्मचारी कोरोना संक्रमित भइसकेका छन्। 

कैयौं साथी र तिनका परिवारका सदस्य संक्रमित भइसकेका छन्। महामारीले नेपालको बैंकिङ क्षेत्र र कर्मचारीको कार्यशैलीमा के कस्तो परिवर्तन ल्याउँदैछ भनेर मैले बैंकिङ क्षेत्रका साथी र अग्रजसँग कुराकानी गरेँ। 

जोखिम न्यूनीकरण
मेरा साथी एवं नेपाल बैंक लिमिटेडका ट्रेनिङ एन्ड डेभलपमेन्टका प्रमुख अश्विनकुमार पुडासैनी कोभिड–१९ संक्रमण भोगेका बैंक कर्मचारीमध्ये एक हुन्।

कोरोना भाइरसको पहिलो लहरको बेला आफ्नो गाडीको पछिल्लो सिटमा बसेका पुडासैनीलाई एक्कासि सास फेर्न गाह्रो हुन थाल्यो। उनी कार्यालय पुगेलगतै उनका सहकर्मीले उनलाई कोभिड–१९ परीक्षणका लागि लगे। केही घन्टापछि उनमा कोरोना संक्रमण भएको पुष्टि भयो, र उनको बैंकले उनका लागि एक होटलमा आइसोलेसनको व्यवस्था गर्यो । उनी परीक्षणमा नेगेटिभ नआउन्जेलसम्म १५ दिनका लागि त्यसै होटलमा बसे।

‘कहिलेकाही एकदमै एक्लो महसुस हन्थ्यो,’ दुई सन्तानका पिता पुडासैनीले भने, ‘म मेरो परिवार, साथी र सहकर्मीसँग निरन्तर सम्पर्कमा थिएँ, तर सकारात्मक हुन मलाई निकै गाह्रो भइरहेको थियो।’

मैले कुरा गरेका अन्य बैंकका कर्मचारी बैंकको छवि विग्रने बताउँदै आफ्नो अनुभवका बारेमा खुल्न चाहेनन्। यद्यपि, संक्रमण कति व्यापक छ भन्ने त बैंकर्स एशोसिएसनको तथ्याङ्कले नै देखाउँछ। तथ्याङ्कका अनुसार ७ हजार ९ सय २९ बैंक कर्मचारी र तिनको परिवारका २ हजार ९ सय ६९ व्यक्ति कोभिड–१९ को पहिलो लहरमा संक्रमित भएका थिए। नेपाल बैंक लिमिटेडको मुलुकभरका २ सय पाँच शाखाका ४ सय कर्मचारी संक्रमित भएका थिए। 

‘दोस्रो लहरमा संक्रमण दर झन् डरलाग्दो छ,’ बैंकर्स एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स असोसिएसनका अनुसार मे महिनाको हन्तिमसम्ममा ४ हजार ५ सय ४८ बैंक कर्मचारी कोरोना संक्रमित भइसकेका छन्।

प्रोटोकल बनाउनेदेख लिएर कर्मचारीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) दिनेसम्मको सतर्कता बैंकहरूले अपनाउँदै आएका छन्। केही बैंकहरूले संक्रमित कर्मचारीका लागि आइसोलेसनमा बस्न होटलका व्यवस्था गरिदिने, पिसिआर परीक्षणको व्यवस्था गरिदिने र आफ्ना कर्मचारीका लागि कोभिड–१९ बिमाको व्यवस्था गरिदिनेसम्मका कदम चालेका छन्। 

कोभिड–१९ विरुद्धको खोप अभियानमा बैंक कर्मचारीलाई सरकारले प्राथमिकतामा राखेको थियो। अप्रिलको सुरुआतसम्म ती कर्मचारीले खोप लगाउन सक्ने थिए। तर, खोप लगाउन हिच्किचाहट र पहिलो लहरमा भाइरसको असर कम देखिएका कारण धेरैले भाइरसको जोखिमलाई गम्भीरतापूर्वक लिएनन्। खोपमा पहुँच भए पनि  बैंक कर्मचारीमा खोप प्राप्तिको दर एकदमै न्यून छ। राजधानी बाहिर त त्यस्तो दर झनै कम छ।

प्रभु बैंककी प्रमुख अपरेटिङ अफिसर रश्मी पन्तका अनुसार दोस्रो लहरले नयाँ खालका समस्या ल्याएको छ।  

‘पहिलो लहरमा कर्मचारीबीच रोटेसन, उनीहरूका लागि बैंक आउन–जान यातायातका व्यवस्था जस्ता चुनौती थिए,’ पन्तले भनिन् ‘अहिले कर्मचारीमा सिर्जना भएको मानसिक तनाव र आलस्यता मुख्य समस्या भएका छन्। मेरो समय उनीहरूलाई सल्लाह–सुझाव दिनमा निकै खर्च हुन थालेको छ।’

विद्युतीय कारोबारतर्फको यात्रा
बैंक कर्मचारीलाई कोरोना संक्रमणबाट बचाउने एउटा तरिका विद्युतीय कारोबारको सुविधालाई विस्तार गर्नु हो। पछिल्लो वर्षमा एकपटक डेबिट कार्ड लिन बैंक गएबाहेक मैले आफ्नो वित्तिय गतिविधि विद्युतीय माध्यमबाटै गरेँ। 

मेरो वित्तीय गतिविधिको सहजीकरणमा एक स्थानीय बैंकका युवा कर्मचारी निम शेर्पाको ठूलो भूमिका रहेको छ। केहि सहयोग चाहिएमा बैंकसम्म पुग्नुको सट्टा म उनलाई फोन वा इमेल गर्छु। उनले मसँग विवरण रुजु गरिसकेपछि मेरो आग्रहलाई अगाडि बढाउँछन्। शेर्पाले आफ्ना धेरै ग्राहकलाई यसरी नै सेवा दिँदै आएका भए पनि उनका एक सहकर्मीलाई कोभिड–१९ पोजिटिभ देखिएको हुनाले उनी केही दिनका लागि आइसोलेसनमा बस्नुप¥यो। पछि उनमा भने कोभिड–१९ नेगेटिभ आयो। 

पछिल्ला वर्षमा नेपाल वित्तीय गतिविधिको विद्युतीकरणतर्फ जाँदै छ, र वित्तीय प्रविधिको अवलम्बन बढ्दो क्रममा छ। महामारीका कारण प्रायः बैंकहरूले क्युआर कोडमा आधारित नभइकन भुक्तानी गर्नसक्ने व्यवस्था गरेका छन् भने केही अन्यले मोबाइलको माध्यमबाट नै ऋण उपलब्ध गराउन थालेका छन्। 

यद्यपि, कागजी नोटको प्रयोग अहिले पनि उच्च नै छ। देशमा वयस्कहरूको संख्या २ करोड छ, तर नेपाल राष्ट्र बैंकका अनुसार एटिएम कार्ड बोक्नेहरू ९० लाख मात्रै छन्। त्यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेहरू १ करोड हाराहारी छन्। (यी आँकडाहरूले मोबाइल बैंकिङको वास्तविक पहुँचलाई दर्शाउँदैनन् किनभने धेरै ग्राहकहरूको एकभन्दा बढी बैंकमा खाता हुने गरेको छ।)

ग्रामिण र सहरी क्षेत्रमा वित्तीय प्रविधिको विस्तारको यथेस्ट सम्भावना छ। विद्युतिय पहुँचमा कमी, अधिकतम कारोबार रकममा नियन्त्रण, कम साक्षरता दर र विद्युतीय सेवाप्रतिको अविश्वासजस्ता पक्षहरूले बाधा सिर्जना गर्ने गरेको भए तापनि विद्युतीय बैंकिङको सुरक्षामाथि विश्वास बढ्दो स्थितिमा नै छ। 

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीका अनुसार कोरोना महामारीले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ रूप दिँदैछ। 

‘बैंकिङ क्षेत्रको सञ्चालन पद्धतिमा कोभिड–१९ ले ठूलो परिवर्तन ल्याएको छ,’ इन्टरनेसनल फाइनान्स कर्पोरेसनको रेडियो कार्यक्रममा उनले भनिन्, ‘अनलाइन खाता खोल्नेदेखि लिएर अन्य आवश्यकताका लागि हामीले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने सुधार महामारीका कारण छर्लंग भएका छन्।’

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले पनि महामारीले कार्यसम्पादन गर्न नयाँ उपायको सम्भावना सिर्जना गरेको बताएका छन्। ‘बैंकहरूको संयुक्त प्रयासका कारण आउने केही महिनाभित्र हजारौं ग्राहक मोबाइल बैंकिङमा जानेछन्। ग्राहकले मोबाइल बैंकिङको सहजताबारे एकपटक जानिसकेपछि पछाडि फर्कन गाह्रो हुनेछ,’ बज्राचार्यले भने। 

सम्भवतः दुःखको घडीमा यो एउटा उपलब्धि नै हुनेछ। मुख्य चुनौती ग्रामीण क्षेत्रको ठूलो जनसंख्यामा विद्युतीय सुविधा उपलब्ध गराउनुमा हुनेछ। अहिले र आउने केही महिनाका लागि बैंक कर्मचारी र अन्य सबैका लागि भाइरसबाट बच्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हुनेछ। 

(विश्व बैंकको इन्टरनेसनल फाइनान्स कर्पोरेसन–आइएफसीको वेबसाइटमा प्रकाशित आइएफसीका लागि काठमाडौँस्थित कम्युनिकेसन्स अफिसर जोन नारायण पराजुलीको यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्।)  

Skip This
Skip This
Logo