देशको ठूलो भूभाग पहाडी क्षेत्रमा छ। ठूलो बस्ती पनि पहाडमा छ। हामीले बाढी र पहिरोको जोखिम छ भनेर पहाडको बस्ती उठाउँदै हिड्न मिल्दैन। विपद्सँगै बाँच्न चाहिँ सिक्नु पर्छ। पहिरोको जोखिम पहाडमा हुन्छ नै। तै पनि प्राकृतिक विपद्सँग मिलेर बस्न सकिने विकल्पहरू छन्।
कसरी बस्न सकिन्छ?
मेलम्चीकै उदाहरण लिऔं। मेलम्चीमा पहिरो गएर केही समय नदी थुनियो। नदीमा अधिक माटो बगेर आयो। कटान गर्यो । अर्कोतिर नदी अतिक्रमित थियो। तटीय क्षेत्रमा त्यहाँ बस्ती थियो। नदीकै छेउमा अग्लाअग्ला घरहरू थिए। भनेपछि झट्ट हेर्दा नदीले न्याय खोजे जस्तो देखिन्छ।
प्राकृतिक विपद्सँग मिल्न सकिने पहिलो विकल्प– हामीले विकास निर्माणको संरचना बनाउँदा खोला र नदीलाई ध्यान दिनुपर्छ। प्राकृतिक बहाबलाई असर पुर्याउने गतिविधि गर्नु हुँदैन। तर, मेलम्ची नदीमा गरिएको थियो। मेलम्ची खानेपानी आयोजनाकै ‘लेबर क्याम्प’ देखि अन्य संरचनाहरू निर्माण जसरी भयो र सडक निर्माण गर्दा जुन माटो निस्कियो। राम्रोसँग व्यवस्थापन गरेनौं। जहाँ निस्किन्छ, त्यहीं राखियो। त्यसले गर्दा ठूलो पानी पर्दा बगेर आयो। जब त्यो माटो पानीमा मिसियो। पानीको क्षयिकरण गर्ने क्षमता ज्यादै बढेर गयो। नदीले धार पनि परिवर्तन गर्यो र बस्तीतिर नदी पुग्यो। हुने नै त्यस्तो हो।
यसबीच एउटा प्रश्न उठेको छ। के सिन्धुपाल्चोकमा बस्नै नहुने हो त? २०७१ मा ठूलो जनधनको क्षति भएको जुरे पहिरोपछि २०७२ मा भूकम्पबाट सर्वाधिक क्षति, त्यसपछि बाढी र पहिरोको उच्च चपेटामा सिन्धुपाल्चोक छ।
फेरि, सत्य के हो भने त्यही भूकम्पपछि अन्य ठूला साना पराकम्पहरू सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएरै धेरै गए। त्यसो हुँदा त्यहाँको जमिन चिराचिरा परेकै हो। धेरै पहिरो गएका छन्। नयाँ पहिरोको संख्यामा कमी आएको छैन। भूकम्पको प्रकोपले हो। वर्षाको पानी पनि अधिक पर्दैछ।
तर, हामीले सिन्धुपाल्चोकको सबै बस्ती अयोग्य भनेर स्थानान्तरण गर्न सम्भव पनि छैन। स्थानान्तरण चाहिँ सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिले जहिल्यै पेचिलो बन्ने गरेको छ।
लगभग बस्ती स्थानान्तरणमा असफल छौं।
दोस्रो विकल्प–बस्तीको मूल्याङ्कन गरिरहनु पर्छ। कुनै पनि बस्ती प्रकोपजन्य घटनाबाट कत्तिको जोखिममा छ? बस्दा र नबस्दाको नाफा नोक्सानको आंकलन गर्नुपर्छ। बस्नु पर्ने हो भने के कस्ता सावधानीका उपाय अवलम्बन गर्नुपर्छ? त्यहाँकै मानिसहरूले जान्ने गरि सिकाउनु पर्छ।
बाढीका कारण ज्यान गुमाएकाको स्थिति हेरौं।
मेलम्ची छेउमा ट्राउट फार्म रहेछ। ट्राउट हुने नै खोला छेउमा हो। फार्ममा काम गरेका ६ जना बेपत्ता भन्ने खबर छ।
माथि खोला पहिरोले थुनिँदा तल सानो भयो होला। किनभने पहिरो गएको थियो। पहिरो खोलिएर नदीले बगाउन सक्छ भनेर माथिल्लो क्षेत्रमा जानु पर्छ भन्ने उनीहरूलाई भएन।
यहाँ खट्केको विषय के भने, कुन प्रकारको विपद्को जोखिम कस्तो हुन्छ? त्यो सिकाइएको छैन। विपद् न्यूनीकरणमा चुनौती यो हो।
त्यही भएर अब पालिका र वडा टोलमा बहुप्रकोप जोखिमका नक्साहरू गाउँलेले बुझ्ने भाषामा बनाएर राख्नु पर्छ। यो स्थानीय, प्रदेश र संघीय सरकारको काम हो, गर्नुपर्छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले भौगर्भिक अध्ययन गरेर ‘जोखिम नक्सा’ तयार गरेको छ।
किनभने, सरकारको पहिलो काम नै नागरिकको सुरक्षा हो। नागरिकलाई सुरक्षित बनाउनु पर्छ। जोगाउनु पर्छ। उनीहरूको बाँच्न पाउने संविधानप्रदत्त अधिकार हो।
तर, हाम्रो परिपार्टी चाहिँ जोखिम न्यूनीकरण भन्दा पनि राहत र उद्दार गर्ने छ। जब विपद् हुन्छ, तब राहत वितरण गर्छौं। जुन ठीक होइन।
पहिलो त विपदबाट नागरिकलाई जोगाउन सचेतना पो जगाउने हो त। यद्यपि, गरिएको छैन।
बाढी र पहिरोको संकेत
– पानी बढी पर्नु भनेकै बाढी आउने संकेत हो। संकेत यसरी पाएपछि त जोखिमयुक्त ठाउँमा बस्नु भएन।
– थुम्कातिरदेखि ढुंगा खस्न थाल्नु पहिरो जाने संकेत हो। अथवा, रुख विरुवाहरू ढल्किँदै जानु, जमिन चिरा पार्नु, भासिँदै जानु आदि पहिरोको संकेतहरू हुन्। जबकि, भूकम्प अगाडि यस्ता संकेत देखिँदैन। संकेत पाउने यी दुई विपद्बाट जोगिन सजिलो छ। जो अपनाउनुपर्छ।
– बाढी आउँदा पानीको बहाब प्राकृतिकरूपमै कायम रहने गर्नुपर्छ। अतिक्रमण गर्न हुँदैन।
– मनुसुन सुरु हुनु अगाडि नै हाम्रो वस्ती सुरक्षित पार्नुपर्छ। विकास निर्माण गर्दा माटो थुपारिएको हुन सक्छ। त्यसलाई व्यवस्थित गर्नुपर्छ। भलदेखि पुलेसो कटान गर्दै सुरक्षित ढंगले निकास गर्नुपर्छ। यति गरे प्राकृतिक विपद्सँगै पनि बाँच्न सकिन्छ।
(केन्द्रविन्दुकर्मी जङ्ग तामाङसँगको कुराकानीमा आधारित सामग्री)































प्रतिक्रिया