आदरणीय अभिभावक तथा शिक्षक साथीहरू,
मेरो यो अनुभवजन्य अभिव्यक्तिलाई कथित बौद्धिक उपदेश नठानिदिनु होला। मैले यो लेखमार्फत ज्ञान बाँड्न खोजेको निश्चय नै होइन, मात्र आफ्ना विगतका कमजोरीहरूको समीक्षा गर्ने प्रयास गरेको हुँ।
हाम्रो परम्परागत सामाजिक अवधारणाले दबाबमूलक अध्ययन अध्यापनलाई मात्रै सफलताको कडी मान्दै आएको छ। मैले विद्यालय तह पूरा गरुन्जेल जति पिटाइ खाएँ त्यति त यातनागृहको कैदीले पनि खाएको छैन होला। अझ मैलेभन्दा धेरै यातना पाउने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य नै हुनुपर्छ।
शैक्षिक चेतनाको उज्यालोबाट वन्चित हाम्रो परम्परागत बुझाइ भनेकै बच्चालाई डर, धाक वा धम्की दिएर होस् या थप्पड लगाएर होस् जसरी भएपनि धेरै नम्बर ल्याउन सक्ने बनाउनु हो र यस कार्यमा जुन विद्यालय प्रशासन बढी क्रूर हुन्छ, उसले मात्रै उच्च गुणस्तर कायम गर्न सक्दछ।
अधिकांश शिक्षित अभिभावकले समेत मेरो बच्चा सफल बनोस् भन्नुभन्दा पनि कक्षामा माथिल्लो स्थान पाओस् भन्ने अपेक्षा राख्ने गरेको पाइन्छ।
बच्चाले गृहकार्य गरेन, बच्चाले मोबाइल धेरै चलायो, बच्चा झगडिया स्वभावको भयो, बच्चाको हस्ताक्षर राम्रो छैन, बच्चा सबेरै उठ्न मान्दैन, चोर्ने बानी सिक्यो, मुखमुखै लाग्ने भएको छ, सानो कुरामा धेरै जिद्दी गर्छ, फोहोरी बोल्न सिक्यो, सरसफाइमा पटक्कै ध्यान दिँदैन, मिठो मात्रै खोज्छ, पढ् भन्यो भने ढोका थुनेर बस्छ आदिआदि हाम्रा बच्चाप्रतिका साझा समस्या देखिने गरेका छन्।
यी समस्याहरूको जड पत्ता लगाउनुभन्दा अगाडि अनौठो घटना उल्लेख गर्नु मनासिब ठान्दछु।
निजी विद्यालय संचालकको नाताले घरघर गएर अभिभावक फकाउने र बच्चा भेला पार्ने खेलमा म पनि संलग्न भएको छु।
यसै क्रममा एउटा घरमा पुग्दा कक्षा दुईमा अध्ययन गर्ने बालक फेला पर्यो। उसलाई आफ्नो विद्यालयमा भर्ना गराउन अभिभावक फकाउनु आवश्यक थियो। बच्चाका आमाबुवा कुनै उद्योगमा मजदुरी गर्नुहुँदो रहेछ। बिहानदेखि बेलुकासम्म अभिभावक घरमा नहुँदा त्यो सात वर्षे बालकको दिनचर्या स्कुलमा कम बाहिर धेरै बित्दो रहेछ। दिनभर घरबाट हराउने र साँझमा फर्किने उसले केही विद्यालय नजाने साथीहरू पनि बनाइसकेको रहेछ।
अभिभावकले थोरै चिन्ता अनि धेरै स्वाभाविकता प्रकट गर्दै जे जे कुरा भन्नुभयो त्यो सुनेर मेरो होस उड्यो।
त्यो बच्चाले बिग्रेका केटाकेटीको सङ्गतले विद्यालय छोड्ने गरेको हो रे, उसले खैनी, गुट्खा, चुरोट जस्ता भेटेजति सबै कुरा खाने गरेको छ रे, उसको बानी छुटाउन धेरै कोसिस गरियो रे, कहिले पिट्ने त कहिले खान पनि नदिने गर्दा समेत उसको बानी सुध्रिएन रे।
अब अभिभावकको चाहना प्रकट भयो, "मेरो बच्चालाई पढाउने हो भने तपाईंले यसको बानी सुधारिदिनु पर्छ।"
पहिले त म अकमक्क परेँ तर पछि मैले एउटा प्रस्ताव राखेँ, "यदि तपाईंले यो बच्चालाई "डे होस्टल" राख्न सक्नुहुन्छ भने हामी कोसिस गर्छौँ। अन्यथा यो काम हाम्रो लागि पनि सामर्थ्री बाहिरको हो।"
हामीले थोरै खर्च लिएर बच्चालाई विद्यालयमा राख्ने निर्णय गर्यौँ। हामीलाई त्यो बच्चा सुध्रियो भने छेउछाउका अन्य अभिभावकको पनि मन जित्न सकिने लोभ थियो।
नभन्दै बिहानदेखि बेलुकासम्म विद्यालयको निगरानी अनि बाँकी समय अभिभावकको निगरानी पाउँदा उसको बानी सजिलै छुट्न गयो! हेर्दाहेर्दै त्यो बच्चा केही कमजोर नतिजा ल्याएर भएपनि कक्षा ६ सम्म आइपुग्यो।
हामीले बच्चाको नतिजाभन्दा पनि धेरै उसको आचरणमा ध्यान दिएका थियौँ। मेरो बुझाइमा नम्बर कम ल्याएपनि ऊ भविष्यमा पक्कै सफल हुनेछ।
कहिलेकाहीँ त शिक्षित र चेतनशील अभिभावकले पनि प्राप्ताङ्क धेरै र थोरै भनेर गुनासो गर्नुहुन्छ। केही बर्ष अघिसम्म म स्वयं पनि धेरै नम्बर ल्याउने विद्यार्थीलाई मात्र राम्रो मान्थेँ। यसले गर्दा कम नम्बर पाउने बच्चाहरू सधैं उपेक्षामा पर्थे।
केही दिन अघिको कुरा हो उसको अभिभावकले मलाई कल गरेर एउटा गुनासो पोख्नुभयो। छरछिमेकका बच्चाको तुलनामा उसको नम्बर कहिले राम्रो आएन रे, यति थोरै नम्बर ल्याएर उसले भविष्यमा के गर्न सक्ला रे! मैले नम्बर मात्रै क्षमता निर्धारणको आधार होइन भनेर उहाँलाई सम्झाउने निरर्थक प्रयास गरेँ। अहिले उसलाई धेरै नम्बर ल्याउन सक्ने विद्यालयमा लगिएको कुरा सुनेको छु।
यो एउटा प्रतिनिधि घटना हो। हाम्रो समाजको बनोट र चेतनास्तर जस्तो छ हामीले दिने गुणस्तर पनि त्योभन्दा फरक नहुने रहेछ।
कहिलेकाहीँ त शिक्षित र चेतनशील अभिभावकले पनि प्राप्ताङ्क धेरै र थोरै भनेर गुनासो गर्नुहुन्छ। केही बर्ष अघिसम्म म स्वयं पनि धेरै नम्बर ल्याउने विद्यार्थीलाई मात्र राम्रो मान्थेँ। यसले गर्दा कम नम्बर पाउने बच्चाहरू सधैं उपेक्षामा पर्थे।
आदरणीय अभिभावकज्यू,
बच्चाको पढाइमा उसको आचरणको ठूलो हात रहन्छ। ऊ कमजोर हुनुमा एउटा मात्रै कुरा कारण हुँदैन।
हाम्रो घरभित्रको वातावरण, छरछिमेकको प्रभाव, टिभी र इन्टरनेटको अनियन्त्रित प्रयोग, नयाँ कुरा प्राप्त गर्ने उत्कट चाहना र अभिभावकको असमर्थता, अभिभावकबाट गरिने सम्पन्नताको अस्वाभाविक प्रदर्शन, साथीभाइको रबाफिलो जीवनशैली, अभिभावकलाई घुर्क्याउँदा सबै कुरा सजिलोसँग पाइन्छ भन्ने विश्वास जस्ता कुराहरू बच्चाको मनोविज्ञानलाई बिगार्न पर्याप्त छन्।
यसबाहेक अभिभावक र विद्यालयबीच आपसी समन्वयको अभाव, विद्यालयमा आचरण र संस्कारका कक्षाहरू नहुनु, नम्बर कम ल्याए अरुको अगाडि मुख देखाउनसमेत लाज हुन्छ भन्ने गलत कुराको छाप पर्नु, शिक्षकले पनि कम नम्बर ल्याउनेलाई उपेक्षा गर्नु र परिवारभित्र पनि कम नम्बर भएकैले हेलाँ र गाली मात्र पाउनु जस्ता कुराहरूले समेत बच्चा शिक्षक र अभिभावकबाट टाढा रहन खोज्ने, जिज्ञासालाई दबाउने, झर्किने अवस्था उत्पन्न हुन्छ। यस्ता समस्याले उसलाई आफ्ना कुरा सुनिदिने पात्रको खोजी गर्न र अभिभावक र शिक्षकलाई पराय बनाउन प्रेरित गर्दछन्।
बच्चाको मनोविज्ञानलाई विकृत हुन नदिन हामीले निम्न कुराप्रति गम्भीर हुनु आवश्यक छ।
१) घरमा सामुहिक कुराकानी र एकअर्काको समस्यामा नियमित छलफल
२) बच्चामा रहेको कुन्ठालाई प्रेमपूर्वक फकाएर बाहिर निकाल्न प्रेरित गर्ने
३) बच्चाका जायज मागहरू पूरा गर्न सकिने र नसकिने कुरा राम्रोसँग बुझाउने र सक्ने जति पूरा गर्दै जाने,
४) पढाइलाई महत्त्व दिन उत्प्रेरित गर्न तर धेरै नम्बर ल्याउन दबाब नदिने
५) संसारमा मध्यम र निम्नमध्यम स्तरका विद्यार्थीले पनि जान्नेहरूको भन्दा धेरै सफलता पाएका कथा र जीवनीहरू सुनाउने
६) अग्रजहरूले पनि घरमा होस् या विद्यालयमा जहिल्यै मर्यादित भाषा र मायालु व्यवहार प्रदर्शन गर्ने
७) खेलकुद, समाचार, गायन, सङ्गीत, नृत्य, बौद्धिक ज्ञान र प्रतियोगिताहरूलाई पनि पढाइकै अभिन्न अङ्ग मान्ने
८) बच्चालाई भान्साको, करेसाबारीको अनि किनमेलको काममा सानो छँदा सँगै रहेर ठूलो भएपछि एक्लै गर्न दिएर सहभागी गराउने
९) फुर्सदको बेला धार्मिक, पौराणिक, नैतिक, कथाहरू अनि महापुरुष र सफल मानिसका जीवनीहरू पनि पढ्न प्रोत्साहन दिने
वास्तवमा बच्चासँग सधैं शिष्ट, सभ्य र मर्यादापूर्ण व्यवहार देखाउँदा मात्रै उसको मनोविज्ञान नकारात्मक बन्दैन। हामीले नै गलत र असहज व्यवहार देखाउने हो भने बच्चाबाट सही व्यवहारको अपेक्षा राख्ने नैतिक पनि गुमाउँछौँ यसर्थ संस्कार रोपेर संस्कार हुर्काऊँ, तिरस्कार रोपेर पुरस्कारको अपेक्षा नगरौँ।
(मेरिल्याण्ड कलेज, विराटनगर)





























प्रतिक्रिया