राष्ट्रिय क्रिकेट टोलीद्वारा त्रिकोणात्मक श्रृंखलाको तयारी, आजदेखि अभ्यास सुरु

राष्ट्रिय क्रिकेट टोलीद्वारा त्रिकोणात्मक श्रृंखलाको तयारी, आजदेखि अभ्यास सुरु

केन्द्रबिन्दु
0
Shares

स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो। एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन्।

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो। जुलाई अन्तिम सात हुने श्रृंखलमा सहभागि हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षण नेगेटिभ आएसँगै श्रृंखलाको तयारी सुरु भएको छ। 

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पहिलो दिन यस अघि नेपाल क्रिकेट संघले जारी गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यस गरे। पृथु बाँस्कोटा प्रशिक्षणमा सहभागी थिएनन्। व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए । 

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकूल भएको छ। धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताए।  

कप्तान ज्ञानेन्द्रले भने जस्तै स्पेनमा हुने एक दिवसीय श्रृंखलाका लागि मौसम प्रतिकूल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसम अनुसारको तयारी गर्नुे पर्ने औंल्याए। प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेशियासँगको श्रृंखलामा उपाधि हात पारेको थियो। स्पेनमा हुने श्रृंखला भिन्न संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नु पर्ने बताए।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो। पछिल्लो समय आईसिसिले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचा अनुसार नेपालको बलियो सम्भावना रहेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले दीर्घकालिन योजना बनाएर कार्यान्वयन गरे नेपालको माथि उक्लने सम्भावना रहेको बताए ।

स्कटल्यान्डमा तय भएका खेलहरु विशेष कारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ। आइसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो। सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ। 

Logo