नेपाली कांग्रेसले आगामी भदौमा १४औं महाधिवेशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेसँगै शीर्ष नेताहरू नेतृत्वको दौडधुपमा लागेका छन्। आगामी महाधिवेशनमा सभापतिका आकांक्षीहरू धेरै भएकाले शीर्ष तहमा दौडधुप बढेको छ। शीर्ष नेता नेतृत्वका लागि भेटघाट बढाएपछि पार्टीको क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन्।
आगामी महाधिवेशनका लागि कांग्रेसले १० लाख क्रियाशील सदस्यता वितरण गरेको थियो। महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि हालसम्म आठ लाख तीन सय १४ जनाको मात्र क्रियाशील सदस्यतको टुंगो लागेको छ। बाँकी दुई लाखको अझै नामावली केन्द्रीय कार्यालयमा आएको छैन। पटक–पटक क्रियाशील सदस्यताको टुंगो लगाउन पार्टीले निर्देशन दिएपछि शीर्ष नेताको टकरावले जिल्लास्तरमा विवाद समाधान हुन सकिरहेको छैन।
पार्टीले वैशाख १५ गतेसम्म क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेरमा इन्ट्री गरिसक्न निर्देशन दिएको छ। तर, विवाद भएको चारवटा जिल्लामा बल्ल क्रियाशील सदस्यता वितरण गरिएको छ। क्रियाशील सदस्यता वितरणसँग अधिवेशनमा चुनिनेहरूले केन्द्रीय नेतृत्व चयन गर्ने भएकाले क्रियाशील सदस्यता विरतरणलाई नेताहरूले महत्वको साथ लिएका छन्। बारा, बर्दिया, सिन्धुपाल्चोक र सप्तरीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम महाधिवशेनको कार्यपालिका सार्वजनिक गरेपछि सुरू भएको छ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्यसमेत रहेका कांग्रेसका नेता प्रदीप पौडेलले बुधबारसम्म आठ लाख तीन सय १४ जनाको क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको बताए। उनले भने– ‘दश लाख सदस्यता वितरण गरिएकोमा आठ लाखको इन्ट्री भईसकेको छ, बाँकी दुई लाखमा एक लाखभन्दाको बढी आउन बाँकी छ।’ कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कटाउने भनेको छ।
०७२ सालमा १३औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा कांग्रेस क्रियाशील सदस्य रहेका थिए। नेता पौडेलका अनुसार करिब एक लाखभन्दा बढी सदस्यताको विवरण आउने आँकलन गरिएको छ। क्रियाशील सदस्यताको वितरणसँगै केन्द्रमा उजुरीको चाङ लाग्ने क्रम पनि सुरू भएको छ। पौडेलले क्रियाशील सदस्यता वितरणसँगै उजुरीको पनि चाङ लागेको बताए। उनले भने– ‘असार २० गतेभित्र सभापतिलाई क्रियाशील सदस्यताको नामावली बुझाउनुपर्ने समयसीमा तोकिएको छ, तर तोकिएको मितिमा नामावली बुझाउन कठिन छ।’नेपाल समाचारपत्रबाट































प्रतिक्रिया