मेलम्ची बाढीः विपद्को बदलिँदो रुप!

मेलम्ची बाढीः विपद्को बदलिँदो रुप!

केन्द्रबिन्दु
27
Shares

हरेक मनसुनले नेपालीहरुलाई विपद्जन्य पीडाहरु दिएर जाने गरेको छ। पहाडी क्षेत्रमा बाढी–पहिरो र तराई क्षेत्रमा बाढी–डुबानले प्रत्येक वर्ष व्यापक धनजनको क्षति पुर्याउँदै आएको छ।

वातावरण विनास तथा जलवायु परिवर्तनको कारण नेपालले मनसुनजन्य विपद् भोगिरहेको छ। नेपाल विपद्को बहुआयामिक जोखिमको उच्च स्थानमा पर्दछ। जल उत्पन्न प्रकोपको जोखिमले ३० औं स्थानमा रहेको छ। 

सिन्धुपाल्चोक  विपद् जोखिमसन निकट  जिल्ला हो। विगतका विपद्हरुको क्षति तथा असरले उक्त कुरा पुष्टि गर्दछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिन्धुपाल्चोकलाई संकटासन्न जिल्लाका रुपमा लिएको छ। 

२०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो। २०७२ सालको भुकम्पले यो जिल्ला अरुभन्दा बढी प्रभावित बन्यो। विनासकारी भूकम्पबाट शिर उठाउँदै गरेको सिन्धुपाल्चोकको लिदि गाउँमा २०७६ सालमा पहिरो गयो। ती विपत्तिले व्यापक मानवीय तथा गम्भीर आर्थिक भौतिक क्षति पुग्यो।

असारको सुरुआतसँगै देशभर मनसुन प्रवेश भएको छ। देशभरि बाढी तथा पहिरोका उल्लेख्य घटना भएका छन्। बाढी–पहिरोले धेरै धनजनको क्षति भएको छ। असार सुरु हुनासाथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा अप्रत्यासित बाढी आयो। उक्त बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका दर्जनौं गाउँबस्तीलाई व्यापक क्षति पुर्यायो।

बाढीले दर्जनौं घर, पसल, सार्वजनिक भावन, पुल, सडक, बिजुलीका पोल, खेतीपाती बगाएको छ। दर्जनाैँ व्यक्तिको मृत्यु भएको छ। अझै केही बेपत्ता भएका छन्। क्षतिको मात्रा अझै बढ्ने देखिन्छ। कल्पनाभन्दा बाहिरका अन्य विपद् आउनसक्ने देखिन्छन्। सिन्धुपाल्चोकका ती क्षेत्र अहिले पनि शोक र त्रासमा छन्। 

मेलम्ची बाढीको कारण खोतल्ने हो भने दुईवटा प्रमुख देखिन्छन्ः

पहिलो, २०७२ सालको भूकम्पबाट थिलथिलो भएको जमिन हो। विनासकारी भूकम्प र पराकम्पनले सिन्धुपाल्चोकका भूभाग थिलथिलो भए। भूगर्भ अध्ययन तथा अनुसन्धानले हाल बाढीपहिरो गएको क्षेत्र बस्ती बस्न अयोग्य भनिएको थियो। जमिनका बाहिरी भाग ठिकै देखिए पनि भित्री भाग चिराचिरा भएका थिए। 

नदीको बहावमा आएको उतारचढावले सजिलै ती चिराहरुलाई प्रभावित बनायो । भ्रेमथाङ चौरबाट पहिरो झर्यो । खोला थुनिए। विष्फोट भयो। थप क्षति पुर्याउँदै अगाडि बढ्यो। यो चक्र मेलम्ची बजारसम्म आउँदा धेरैपटक दोहोरियो।

२०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो। २०७२ सालको भुकम्पले यो जिल्ला अरुभन्दा बढी प्रभावित बन्यो। विनासकारी भूकम्पबाट शिर उठाउँदै गरेको सिन्धुपाल्चोकको लिदि गाउँमा २०७६ सालमा पहिरो गयो।

दोस्रो, मेलम्ची नदीको मुहान रहेको हिमालको हिउँ अत्यधिक मात्रामा पग्लिएको हुनुपर्छ। जसले मेलम्ची नदीमा पानीको बहाव धेरै उच्च बनायो। उच्च बहावले भ्रेमथाङ चौरक्षेत्रमा पहिरो निम्त्यायो। 

पहिरोसँगै बगेको ढुंगा–माटो, रुख आदि कारणले नदी थुनिए। नदीको शक्ति बढ्यो। विष्फोट भयो। विनास निम्त्यायो। पटक–पटक नदी थुनिएपछि झन् शक्ति थपियो। फेरि विष्फोट भयो। झन् विनासकारी र शक्तिशाली भयो। यो क्रम बारम्बार दोहोरिँदै ३०–४० किमिमा रहेको मेलम्ची बजार पुग्यो, जहाँ इन्द्रावती नदीको साथ भयो। यसरी अकल्पनीय घटनाको कारण जलवायु परिवर्तन हुनुपर्दछ। 

नेपालले जलवायु परिवर्तनबाट सृजित विपद् केही समयदेखि भोग्दै आइरहेको छ। २०६९ साल वैशाखमा कास्की जिल्लाको सेती नदीमा अप्रत्यासित बाढी आयो। त्यो बाढी आउने मौसम थिएन, हिउँ पर्ने मौसम पनि थिएन। तर, हिमपहिरो आयो।

बाढीको कारण हिमपहिरो आएको थियो। नदीले आफ्नो हैसियत गुमायो। भीषण पहिरो गयोे। धेरै धनजनको क्षति गयो। पोखरा सहर आउँदा खोलाले थप वितन्डा मच्चाउन सकेन।

मेलम्ची र सेती नदीमा आएको बाढीको प्रकृतिलाई नियाल्ने हो भने केही समानता पाइन्छ। यी दुवै घटनाको मुख्य कारण जलवायु परिवर्तनले गर्दा गएको हिमपहिरो हो। दुवै जलवायु परिवर्तनद्वारा सृजित विपत्तिका नमुना हुन्। यस्ता थुप्रै विपदजन्य घटना जलवायु परिवर्तनबाट सृजित भइरहेका छन्।

अब के गर्नु पर्ला?
अल्पकालीनः

तत्काल बस्ती तथा समुदायमा थप क्षति रोक्न न्यूनीकरणका उपाय तुरुन्त सुरु गर्नुपर्छ। अस्थायी तटबन्ध, चेक ड्याम, ग्याबिन वालजस्ता नदी नियन्त्रणका कार्य यथाशीघ्र सुरु गर्नु पर्दछ, जसले विपद् जोखिमलाई न्यूनीकरण गर्दछ। 

राज्यको स्रोत–साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ। उचित राहत तथा सुरक्षित अस्थायी आवासको व्यवस्था गर्नुपर्छ। तत्काल मानवीय आवश्यकताका सामग्रीहरु सोलार, लाइट, जेनेरेटर (मोबाईल चार्ज गर्न मिल्ने) को व्यवस्था गर्नुपर्ने देखिन्छ।  

दीर्घकालीनः 

झट्ट हेर्दा विपद्को कारण प्राकृतिक देखिए पनि यसको कारण राजनीतिक हो। बस्ती निर्माण तथा विस्तारदेखि विपद् जोखिम व्यवस्थापनमा राज्य चुकेकै कारण विपद् आएको देखिन्छ। विपद्को स्वरुप पूर्ण रुपले परिवर्तन भएको छ। हाम्रो पूर्वतयारी र क्रियाकलाप परम्परागत नै छ। तसर्थ, तपसिलका व्यवस्थित र वैज्ञानिक नीति तथा कार्यक्रम अपरिहार्य देखिन्छ।

१. विपद् जोखिम व्यवस्थापन क्षमता र संयन्त्रलाई बलियो बनाउने।  

प्रकोप सबै अवस्थामा विपद् हुँदैन। प्रत्येक बर्खायाममा नदीनालाहरु प्रकोपको रुपमा रहन्छ। प्रकोपले जनजीवनलाई तहसनहस नगरेसम्म विपद् हुँदैन। 

तहसनहस गर्नका लागि संकटसम्मुखतामा रहेको व्यक्ति वा समुदायको क्षमतालाई बाढीले जित्नुपर्दछ। हानि–नोक्सान पुर्याएको हुनुपर्दछ। क्षतिको मात्रालाई बस्ती या समुदायको क्षमताले निर्धारण गर्दछ। क्षमताअन्तर्गत भौतिक र अभौतिक दुवै पर्दछन्। व्यक्ति, समुदाय, राज्य, संघसंस्था आदिबारे समग्रमा बुझ्नुपर्दछ।  

व्यवस्थित र वैज्ञानिक विपद् जोखिम व्यवस्थापनको क्रियाकलापले विपदसँग जुध्ने क्षमता वृद्धि र सुनिश्चित गराउँछ। सबै तह र तप्काको क्षमता वृद्धि विकासको योजना र कार्यान्वयन गराउँछ। विद्यमान स्रोत र साधनको उचित प्रयोग गरी विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ। तसर्थ, व्यवस्थित र वैज्ञानिक विपद् जोखिम व्यवस्थापनको नीति कार्यक्रमको उचित कार्यान्वयन गर्नुपर्दछ।  

२.पूर्वसूचना प्रणाली विकास 

विपद्पूर्वको अवस्थामा सूचना तथा सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ। सही सूचना उचित समयमा प्राप्त गर्ने हो भने क्षतिको मात्रा धेरै कम गर्न सकिन्छ। जसका लागि नदीमा पूर्वसूचना प्रणाली स्थापित गर्नुपर्छ।

माथिल्लो भागमा मापन केन्द्र र सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ। ती सूचनाको प्रसारण तथा प्रतिकार्य गर्ने संयन्त्र निर्माण गर्नुपर्दछ। जोखिमयुक्त समुदायमा तत्काल सूचना पुग्ने संयन्त्र र प्रणाली निर्माण गर्नुपर्ने देखिन्छ।  

३.नदी तथा प्राकृतिक स्रोतमाथिको चरम दोहन रोक्ने

नदीको आफ्नो छुट्टै नियम हुन्छ। आफ्नो छुट्टै इकोसिस्टम हुन्छ। नदी आफ्नै सुरले बग्न रुचाउँछ। तर, पछिल्लो चरणमा नदी तथा प्राकृतिक स्रोतको चरम दोहन भैरहेको छ, जसले गर्दा नदी आफ्नो सुरले बग्न पाएको छैन। नदीको सन्तुलन गुमेको छ। 

नदीको इकोसिस्टम र नियमलाई सम्मान गर्दै नदीमाथिको दोहन रोक्नुपर्छ। साथै प्राकृतिक स्रोत र साधनको दोहन रोक्नुपर्छ, तब मात्र नदीले विपत्ति ल्याउँदैन। धनजनको क्षति पुर्याउँदैन।  

४. जलवायु जोखिम संवेदनशील भूउपयोग योजना तथा भूगर्भ अध्ययन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुरुप सबै स्थानीय तहले स्थानिय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने कानुनी प्रावधान छ। 

सामान्य अवस्थामा उक्त योजनाले विपद् व्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दछ। तर, सिन्धुपाल्चोकजस्तो बहुआयामिक जोखिम नजिक रहेको क्षेत्रहरुको विस्तृत भूगर्भ अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ। 

ती भूगर्भ अध्ययन–अनुसन्धानको आधारमा जलवायु जोखिम संवेदनशील भूउपयोग योजना निर्माण हुन्छ। जलवायु जोखिम भूउपयोग योजनाले जमिनको वैज्ञानिक विभाजन गर्छ। जमिनको भारवहन क्षमताको सुक्ष्म अध्ययन र तथ्य प्रदान गर्छ। 

भूगर्भ अध्ययनले जोखिम देखिएको स्थानलाई सुरक्षित बनाउन जोखिम न्यूनीकरण तथा व्यवस्थापानका उपायसमेत निर्देशित गर्दछ। दीर्घकालिन रुपमा सुरक्षित बस्ती विकास गराउन महत्वपूर्ण भूमिका खेल्नेछ। 

बस्ती विकासका लागि योग्य या अयोग्य जमिनबारे जानकारी गराउँछ। साथै, यस प्रकारको योजनाले कहाँ बस्ती बसाउने? कहाँ खेतीपाती गर्ने? कहाँ उद्योग कलकारखाना खोल्नेजस्ता विषयमा दिशानिर्देश गर्दछ। 

भूगर्भ अध्ययनले जोखिम देखिएको स्थानलाई सुरक्षित बनाउन जोखिम न्यूनीकरण तथा व्यवस्थापानका उपायसमेत निर्देशित गर्दछ। दीर्घकालिन रुपमा सुरक्षित बस्ती विकास गराउन महत्वपूर्ण भूमिका खेल्नेछ। 

सिन्धुपाल्चोक जस्तो भूकम्पले थिलथिलो भएको स्थानको भूगर्भ अध्ययन अनिवार्य थियो। केही स्थानमा गैरसरकारी संस्थाको सहयोगले जलवायु जोखिम संवेदनशील भूउपयोग योजना तथा भूगर्भ अध्ययन गरियो। उक्त भूगर्भ अध्ययनले निर्देशित गरेको जोखिम न्यूनीकरणको क्रियाकलाप नहुँदा सिन्धुपाल्चोकको लिदीमा पहिरो गएर व्यापक धनजनको क्षति भयो। 

तसर्थ, नेपालका सबै स्थानीय तहले सबै बस्ती तथा स्थानको जलवायु जोखिम संवेदनशील भूउपयोग योजना निर्माण गर्नुपर्ने देखिन्छ। उक्त योजनाले निर्देशित गरेको क्रियाकलापलाई उचित ढंगले कार्यान्वयन गर्नुपर्ने देखिन्छ। र, सोहीअनुरुप प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्नुपर्ने देखिन्छ। 

अन्तमा, नदी मानव सभ्यताको प्रतीक हो। विश्वमा थुपै्र सहर नदीको किनारमा छन्। नदीकै कारण थुप्रै उन्नति प्रगति भएको छ। विडम्बना नै भनुँ हाम्रो देशमा नदी विपत्तिको कारण भएको छ। हामीसँग एक कान्लो मुनिको नदीबाट सिँचाइ गर्नसक्ने जुक्ति, क्षमता र सामथ्र्य छैन। तर, सयौं मिटर क्षति पुर्याएको देखिन्छ। 

बिहानीले दिउँसोको संकेत गर्छ भनेझै सुरुआती मनसुनले धेरै क्षतिको संकेत दिएको छ। यस वर्ष अघिल्लो वर्षहरुको तुलनामा ३०–४० प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको छ। नेपालका सबै नदीहरुमा बाढीको मात्र बढेको छ।

विज्ञहरुको रायअनुरुप मेलम्ची खोलामा अझै पनि बाढी आउने सम्भावना छ किनभने मूल पहिरो गएको भ्रेमथाङ चौरक्षेत्रको २५ प्रतिशत भाग मात्र बाढीले बगाएको र बाँकी ७५ प्रतिशत पहिरोको उच्च जोखिममा रहेको अनुसन्धानले देखाएको छ। उक्त पहिरो झरेमा र पुनः खोला थुनिएमा यसबाट धेरै गुणा असर र क्षति हुनसक्ने देखिन्छ।

जब बस्ती तथा समुदायको संकटासन्नता र जोखिमको भेट हुन्छ, तब मात्र विपद् र क्षति हुने गर्दछ। तसर्थ, जोखिम र समुदायको संकटासन्नतालाई भेट हुन दिनु हुँदैन। साथै, समुदायको क्षमताले क्षतिको मात्रलाई निर्धारण गर्दछ। त्यही भएर समुदायको क्षमता वृद्धि गर्नुपर्छ। यसका लागि विपद् जोखिम व्यवस्थापनमा व्यवस्थित लगानी र कार्य गर्नुपर्ने देखिन्छ।

साथै, हिमालबाट बग्ने नदीहरुमा जलवायु परिवर्तनको असर देखिँदै छ। जलवायु परिवर्तनकै कारण हिमालबाट बग्ने नदीहरुमा अप्रत्यासित हिमपहिरो जाने र हिमताल विष्फोट भइ बाढी आएको देखिन्छ । तसर्थ, ती हिमालबाट बग्ने नदी किनारमा रहेका बस्ती तथा समुदायलाई सही व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

(अर्याल सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी परियोजनामा कार्यरत छिन्)

Skip This
Skip This
Logo