यूरोकपका समूह चरणका रोमाञ्चक खेलहरु सकिएका छन्। समूह चरणमा केही अपेक्षित र केही अनपेक्षित नतिजाहरु सामने आएका छन्। निकै आशा गरिएका ठूला टोलीहरुले सामान्य खेल पस्किएका छन् भने केही टोलीले सोचे भन्दा निकै राम्रो खेल खेलेका छन् । इटाली, बेल्जियम र नेदरल्याण्डले मात्र समूह चरणका सबै तीन खेल खेल्दै स्पष्ट ९ अंक जोड्न सफल भएका छन् ।
अब सबैको ध्यान नकआउट चरणतर्फ रहेको छ । राउण्ड अफ सिक्सटिनमा केही यस्ता खेलहरु छन्, जसले विश्वभरका फुटबल फ्यानहरुको ध्यान खिचिसकेको छ । डिफेण्डिँग च्याम्पियन पोर्चुगल र बेल्जियम, जर्मनी र इंग्ल्याण्ड तथा स्पेन र क्रोएशियाबीचको खेल निकै रोमाञ्चक हुने आशा गर्न सकिन्छ । राउण्ड अफ सिक्सटिन अर्थात प्रि–क्वाटरफाइनलका खेलहरुको एकैछिन् चर्चा गरौं ।
वेल्स भर्सेस डेनमार्क
समूह ए मा दोस्रो स्थान हातपार्दै वेल्स नकआउट चरणमा प्रवेश गरेको हो । त्यसक्रममा उसले खेलेका तीन खेलमध्ये एकमा जीत, एकमा हार र एकमा बराबरी गरेको थियो । राउण्ड अफ सिक्सटिनमा उसको प्रतिद्वन्दी डेनमार्क भने केही असहज परिस्थितीबाट गुज्रदै यो अवस्थामा आइपुगेको छ । घरेलु मैदानमा पहिलो खेलमै आफ्ना स्टार खेलाडीलाई हर्टएट्याकका कारण गुमाएको डेनमार्कले समूहमा बी मा एक जीतका साथ दोस्रो स्थान हासिल गरेको थियो । उसले समूह चरणमा गोल अन्तरका आधारमा माथि रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
इटाली भर्सेस अष्ट्रिया
इटाली युरोकप २०२० को प्रमुख दावेदार मध्येको एक राष्ट्र हो । सन् २०१८ को विश्वकपमा छनौट हुन नसकेको पीडालाई यतिबेला इटालीले मैदानभित्र उत्कृष्ट प्रदर्शन गर्दै भुलाउने प्रयास गरिरहेको छ । समूह ए मा सबै तीन खेल जितेर नौ अंक हासिल गर्दा इटालीले एक गोल पनि खाएन । निकै लयमा देखिएको इटाली नकआउट चरणमा अष्ट्रियासँग खेल्दैछ । समुह सी मा अष्ट्रिया ६ अंकसहित दोस्रो भएको थियो । उसले युक्रेन र नर्थ म्यासेडोनियालाई हराएको थियो भने नेदरल्याडण्डसँग पराजय भोगेको थियो ।
नेदरल्याण्ड भर्सेस चेक रिपब्लिक
समूह चरणमा अर्को उत्कृष्ट प्रदर्शन गर्ने मुलुक हो, नेदरल्याण्ड । उसले पनि सबै तीन खेल जित्दै नौ अंक हासिल गरेको छ । नेदरल्याण्डको पीडा पनि इटाली जत्तिकै छ । सन् २०१८ को रुसी विश्वकपमा ओरेन्ज टोली पनि छनौट हुन सकेको थिएन । उत्कृट युवा टोली रहेको नेदरल्याण्डले राउण्ड अफ सिक्सटिनमा चेक टोलीको सामना गर्दैछ । समूह डी मा चेक एक जीत र एक बराबरीका साथ चार अंकसहित तेस्रो स्थान हात पार्दै माथिल्लो चरणमा प्रवेश गरेको हो ।
बेल्जियम भर्सेस पोर्चुगल
नकआउट चरणमा हाइप्रोफाइल मध्येको एक खेल हो यो । समूह बी मा बेल्जियम अपराजित रहँदै नकआउट चरणमा पुगेको हो । उसले तीन खेलमा सात गोल गरेको थियो भने मात्र एक गोल खाएको थियो । बेल्जियम उत्कृष्ट मिडफिल्डरहरुले भरिएको टोली हो । केभिन डी ब्रुएन, इडेन हाजार्ड, एलेक्स विट्ससजस्ता खेलाडी यो टोलीमा छन् ।
समूह चरणमा केही अपेक्षित र केही अनपेक्षित नतिजाहरु सामने आएका छन्। निकै आशा गरिएका ठूला टोलीहरुले सामान्य खेल पस्किएका छन् भने केही टोलीले सोचे भन्दा निकै राम्रो खेल खेलेका छन् ।
गोल्डेन जेनेरेशनका रुपमा रहेको बेल्जियम यसपटकको युरोकप जित्न चाहन्छ । तर त्यसका लागि पहिला डिफेण्डिँग च्याम्पियन पोर्चुगलले प्रस्तुत गर्ने चुनौती पन्छाउनु पर्ने हुन्छ । समूह एफमा पोर्चुगल चार अंकसहित तेस्रो हुँदै अन्तिम सोह्रमा पुगेको हो । पोर्चुगलसँग विश्वकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । रोनाल्डो जारी युरोकपमा निकै लयमा देखिएका छन् र उनले चार गोल गरिसकेका छन् । पोर्चुगलले समूह चरणको खेलमा जमर्नीविरुद्ध निराशाजनक प्रदर्शन गरेको थियो । तर अन्तिम खेलमा फ्रान्सलाई दुई–दुईको बराबरीमा रोक्दै ऊ नकआउट चरणमा प्रवेश गरेको हो ।
स्पेन भर्सेस क्रोएशिया
नकआउट चरणमा अर्को लोभलाग्दो खेल हो यो । युरोपको सफल मध्येको एक टोली स्पेनले अन्तिम आठमा प्रवेश गर्न क्रोएशियाको चुनौती पन्छाउनु पर्ने हुन्छ । तर समुह चरणको खेलमा स्पेनले सोचे अनुरुपको खेल प्रदर्शन गर्न सकेन । समूह ई मा एक जीत र दुई बराबरी खेल्दै स्पेन पाँच अंकका साथ स्विडेनपछि दोस्रो स्थानमा रह्यो । यता, क्रोएशिया पनि समूह डी मा एक जीत, एक हार र एक बराबरीसहित चार अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो । स्पेनले समूह चरणमा पहिलो स्थान हात पार्न सफल भएको भए प्रिक्वाटरफाइनलमा क्रोएशियाजस्तो बलियो टोलीको सामना गर्नुपर्ने थिएन ।
फ्रान्स भर्सेस स्विजरल्याण्ड
यसवर्षको युरोकपको अर्को दावेदार राष्ट्र हो फ्रान्स । सन् २०१८ को विश्वकप विजेता टोली फ्रान्सले अप्रत्यासित प्रदर्शन गरिरहेको छ । निकै कडा मानिएको समूह एफमा उनले तीनमध्ये एक जीत र दुई बराबरी खेल्दै पाँच अंकका साथ पहिलो स्थानमा रह्यो । हंगेरीसँग एक–एक गोलको बराबरी खेलेपछि फ्रान्सको निकै आलाेचना गरिएको थियो । यदी फाइनलमा पुगेर उपाधी नै जित्ने हो भने फ्रान्सले अहिले खेलिरहेको खेल भन्दा निकै सुधारिएको प्रदर्शन गर्नुपर्नेछ । जारी युरोकपमा सबैभन्दा बलियो स्क्वाड भएको टोली हो फ्रान्स । अब यो बलियो टोलीको सामना स्विजरल्याण्डले गर्नेछ । समूह ए मा स्विजरल्याण्डले एक जीत र एक बराबरीका कारण चार अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको थियो । यो समूहको चौथो टोली टर्कीले अंकको खाता खोल्नै सकेन। टर्कीसँगै अंकको खाता खोल्न नसक्नेमा समूह सी मा रहेको नर्थ म्यासेडोनिया पनि रह्यो ।
इंग्ल्याण्ड भर्सेस जर्मनी
प्रिक्वाटरफाइनलको अर्को ठूलो खेलमा इंग्ल्याण्डले जर्मनीको सामना गर्नेछ । समूह चरणमा आफ्ना सबै खेल घरमै खेलिरहेको इंग्ल्याण्डलाई सन् २०१४ को विश्व विजेता जर्मनीको सामना गर्न पक्कै सजिलो छैन । तर जारी प्रतियोगितामा एक खेल पनि नहारेको इंग्ल्याण्डले एक गोल पनि खाएको छैन । समूह डी मा उसले दुई जीत र एक बराबरी खेलेको थियो । इंग्ल्याण्डको टोली उत्कृष्ट युवा खेलाडीहरुले भरिएको टोली हो । तर यी खेलाडीहरुसँग ठूला प्रतियोगिताको अनुभव छैन । जर्मनीले वेम्लि रंगशालामा हुने खेलमा यसैको फाइदा उठाउन सक्छ । जर्मनीले भने सबैभन्दा गाह्रो समूहबाट उम्किदै नकआउट चरणमा प्रवेश गरेको हो । यो समूहमा ऊ फ्रान्ससँग पराजित भएको थियो हंगेरीसँग दुई–दुई गोलको बराबरीमा रोकिएको थियो । जर्मनीले समूह चरणमा पोर्चुगलविरुद्ध गरेको प्रदर्शन दोहोर्याए इंग्ल्याण्डलाई अन्तिम आठमा पुग्न निकै कठिन हुनेछ । पोर्चुगलविरुद्ध जर्मनीले चार गोल गरेको थियो ।
स्विडेन भर्सेस युक्रेन
राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा स्विडेन र युक्रेनको सामना गर्नेछ । स्विडेनले समूह ई मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पारेको थियो । अपराजित रहेको स्विडेनले दुई जीत हात पार्दा एक खेल बराबरी खेलेको हो । यो समूहमा दावेदार मानिएको स्पेनलाईपछि पार्दै स्विडेन पहिलो बनेको हो । समूह सी मा एक खेल मात्रै जितेको युक्रेन तीन अंकसहित दोस्रो चरणमा प्रवेश गरेको हो ।
यसपटक ६ समूहका उत्कृष्ट १२ टोली बाहेक तेस्रो स्थानमा रहेका थप चार टोली राउण्ड अफ सिक्सटिनमा पुगेका थिए । ती चार भाग्मानी टोली युक्रेन, चेक रिपब्लिक, स्विजरल्याण्ड र डिफेण्डिंग च्याम्पियन पोर्चुगल हुन् ।
अब आगामी शनिवारबाट नकआउट चरणका खेलहरु शुरु हुनेछन् ।































प्रतिक्रिया