प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ।
दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशलगायत अन्य आवश्यक र उपयुक्त आदेश जारी गरी पाउन भनि माग गरिएको छ ।
एडभोकेसी फोरमका प्रदेश २ संयोजकसमेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमितकुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रुपमा रहेको मौलिक हकसमेतको कार्यान्वयनको लागि संविधानका विभिन्न धाराबमोजिम समावेशीताको पालना हुनुपर्ने जिकिर गरिएको छ। प्रदेशमा गत जेठ २६ गते मन्त्रिमण्डल हेरफर भएको थियो ।
नगरसभामा अवरोध
धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध गरेका छन्। ढल्केवरमा नगरपालिकाको नगरसभा शुरु भएपछि स्थानीयबासीले आफ्ना माग सम्बोधन गराउन प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका थिए।
कार्यक्रमस्थल घेराउ भएपछि प्रमुख हरिनारायण महतो आवेशमा आउँदा स्थिति तनावग्रस्त भएको थियो।
नेपाल सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको केही दिनपछि सो ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय गरेको खबर बाहिरिएपछि ढल्केवरबासी आन्दोलित भएका छन्।





























प्रतिक्रिया