राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको माग चर्किदै गरेको बेला पार्टी नेतृत्वले युवाहरुलाई भूमिकाविहीन बनाएको भन्दै अध्यक्ष त्रयको आलोचना भएको छ।
नवगठित निर्देशन तथा विशेष समितिमा युवालाई बहिष्कृत गरेको भन्दै नेतृत्वमाथि प्रश्न उठेको हो। ‘निर्देशन समिति र विशेष समिति दुबैमा युवाहरुको प्रतिनिधित्व देखिएन । विगतमा तपाईंहरुले युवा अवस्थामा पार्टी चलाउनु भयो । अहिले बुढा भइसकेको अवस्थामा पार्टीलाई जीवन्त राख्न युवा चाहिँदैन ?’, निर्देशन समितिको बिहीबार सम्पन्न वैठकमा बोल्दै दिलनाथ गिरीले अध्यक्षहरु पशुपति शमेशर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई प्रश्न गरे।
नवगठित समितिहरुमा युवाका साथै महिला र समानुपातिक समावेशी प्रतिनिधित्व नभएकोमा उनको आलोचना थियो । पार्टीको विरासत निरन्तर राख्न नेतृत्व दोस्रो पुस्तामा जानु पर्नेमा गिरीले जोड दिए ।
निर्देशन समितिको दोस्रो दिनको वैठकमा बोल्दै गिरीले विधानविपरीत विशेष समिति गठन गरेकोमा आपत्ति जनाए । प्रधानमन्त्रीले संविधान मिच्दा देश संकटमा पर्यो, विधानले नचिन्ने विशेष समिति बनाउँदा राप्रपामा पनि सोही बाटोतर्फ जाने त हैन भन्दै उनले विशेष समिति खारेजीको माग गरे ।
अध्यक्ष राणाको अध्यक्षतामा नवदुर्गा पार्टी भेन्यूमा बुधबारदेखि निर्देशन समितिको वैठक जारी छ । बैठकमा बोल्दै तोरणबहादुर गुरुङले धवलशम्शेर राणाले मिडियाबाजी गरेको भन्दै आलोचना गरे । पार्टी भित्र बोल्नु पर्ने विषय, मिडियामा बोलेकोमा उनको आपत्ति थियो । कुन्ती शाहीले कमल थापाको निरन्तरता आवश्यक रहेको बताए ।
भरत गिरी, भोला यादव र मुकुन्दश्याम गिरीले आ–आफ्नो धारणा राखेका थिए। वैठकमा बोल्ने निर्देशन समिति सदस्यहरुले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न कात्तिकसम्म जिल्ला अधिवेशन सम्पन्न गर्नु पर्नेमा जोड दिए । नेतृत्व हस्तान्तरणको विषय पनि छलफलमा व्यापक उठ्यो ।
समितिको बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अनुपस्थित रहे । त्यसैगरी धवलशमशेर राणा, रामकुमार सुब्बा, राजेन्द्र लिङ्देन, जयन्त चन्द, हरिबहादुर बस्नेतलगायत सहभागी नभएको एक नेताले जनाए । वैठक अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको छ।































प्रतिक्रिया