नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति वा उपसभापतिसहित एक तिहाई पदाधिकारीका लागि लबिङ गर्ने भएका छन्।
महाधिवेशनका सन्दर्भमा पार्टी केन्द्रीय महिला विभाग र नेपाल महिला संघ केन्द्रीय कार्य समितिबीच भएको छलफलमा आरक्षणमार्फत् केही पद संख्याको सुनिश्चतता भए पनि नेतृत्व तहका लागि पर्याप्त नभएकाले खुल्ला तर्फबाटै उम्मेदार बन्नुपर्ने र पार्टीमा एक तिहाई पदाधिकारी सुनिश्चितताका लागि ध्यानाकर्षण गराउने जनाएको हो।
वडास्तरदेखि संबिधानको भावना अनुरुप सभापति वा उपसभापति मध्ये एक एवं एक तिहाई पदाधिकारीको लागि लबिङ गर्ने बैठकले तय गरेको छ। अन्य दलको तुलनामा पार्टीको प्राथमिकतामा महिला भए पनि खुल्ला प्रतिस्पर्धाका लागि केही समय अझै लाग्ने भएकाले आरक्षणको व्यवस्था थप गर्नुपर्ने विभाग प्रमुख ईश्वरी न्यौपानेले बताइन्।
विधानमा नै केन्द्र तथा प्रदेशमा सहमहामन्त्री पदका लागि आरक्षणको व्यवस्था उल्लेख गरिए पनि जिल्ला तथा अन्य संरचनामा कुनै आरक्षणको व्यवस्था नगरिएको भेलामा सहभागीले बताए।
भर्खरै जारी क्रियाशील सदस्यतामा सक्रिय महिलाले सदस्यता पाए नपाएकोबारे र कुल संख्यामा ३३ प्रतिशत भए नभएकोबारे जानकारी लिन विभाग र समितिले संयुक्तरुपमा सचिवको नेतृत्वमा अनुगमन गर्ने महिला संघकी सभापति उमा रेग्मीले जानकारी दिइन्।
छलफलमा सहभागी सदस्यहरुले महाधिवेशन अगावै थप सिट संख्या सुनिश्चितताका लागि पार्टी केन्द्रीय समितिमा केन्द्रीय महिला नेताले दबाब दिनुपर्ने आवाज उठाएका छन्। वडादेखि केन्द्रसम्मको सबै तहमा अनिवार्य ३३ प्रतिशत सहभागिता हुने गरि विभागले कार्य थाल्ने पनि जनाएको छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।
विभागले विभिन्न प्रदेशमा गरेको महिला भेलाको माग अनुसार गण्डकी प्रदेश सरकारले महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरजस्ता रोगको उपचारको निःशुल्क व्यवस्था गरेकोमा धन्यवाद ज्ञापन गरेको छ।
बैठकमा कोभिडबाट निधन भएका महिला संघ केन्द्रीय सदस्य संगिता कर्माचार्य, पूर्वमन्त्रि तप्तबहादुर बिष्ट, पूर्व माननीय कृष्णसिंह परियारलगायत कोरोना संक्रमणबाट दिवंगत भएका सबै मृतकहरूप्रति श्रद्दासुमन अर्पण गरेको छ।





























प्रतिक्रिया