आठ वर्षदेखि सडक नबनाइएको भन्दै बुढानिलकण्ठका बासिन्दा आन्दोलित बनेका छन्। बुढानिलकण्ठ नगरपालिका–१२ का बासिन्दाले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा वेवास्ता गरेको भन्दै आज वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा सडक विभागको कार्यालयमा तालाबन्दी गरिएको थियो। ताला प्रहरीले केही समयपछि फुटाएको थियो। ताला फुटाएको विषयमा विरोध जनाएसगैँ वडाध्यक्ष भट्टराईसहित केही व्यक्तिलाई प्रक्राउ गरिएको थियो।
प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई केही समय नियन्त्रणमा लिएर छाडिएको जानकारी दिए। वडाध्यक्षसहित १५ जनालाई प्रहरीले प्रक्राउ गरी तिनकुने प्रहरी कार्यालयमा लगेको थियो।
०७२ मा टेन्डर भएको बाटो हालसम्म मर्मत नभएपछि आन्दोलन गर्न बाध्य भएको वडाध्यक्ष भट्टराईले बताए। “हामी वडावासीको मुख्य माग भत्काएको बाटो मर्मत हुनुपर्छ भन्ने हो, जनताले रकम सङ्कलन गरेर बनाएको बाटो भत्काएर राखिएको छ, आठ वर्ष हुँदासम्म बाटो मर्मत नभएपछि बाध्य भएर विभागमा तालाबन्दी गरेका हौँ”, उनले भने।
०६१ मा स्थानीयवासीले रकम सङ्कलन गरेर कालोपत्र गरेको उक्त सडक बाटो फराकिलो बनाइने, ढल राख्ने भन्दै भत्काइएको थियो। सम्बन्धित निकायले आश्वासन दिए पनि आठ वर्षसम्म मर्मत नभएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्।































प्रतिक्रिया