सार्वजनिक यातायात सञ्चालनमा: बसपार्क हटाइएकाले यात्रु नपाएको व्यवसायीको गुनासो

सार्वजनिक यातायात सञ्चालनमा: बसपार्क हटाइएकाले यात्रु नपाएको व्यवसायीको गुनासो

केन्द्रबिन्दु
0
Shares

लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन्।

२०७८ बैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिनापछि मंगलबारदेखि सञ्चालन हुन थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन्।

बल्लतल्ल जोरविजोर प्रणाली अनुसार एक दिन बिराएर सवारी साधन सञ्चालन गर्न पाए पनि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेका गुनासो चालकहरुले गरेका छन्। 

सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नु पर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्याउन पनि धौधौ भएको उनीहरुको गुनासो छ।महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरपरि घुमिरहनु परेको गुनासो चालकले गरेका छन्। 

उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए। बुढानिलकण्ठ रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफूहरुको दुःख नसुन्ने गरेको गुनासो गर्छन्।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्यरुपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन। माईक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदूरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गर्छन्। साथै काठमाडौं महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यवहारिक भएको दाबी उनीहरुको छ। बुढानिलकण्ठ रत्नपार्क रुटका सहचालक लिलाराज गिरीले बैकल्पिक स्थान नतोकि बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरु पनि समस्यामा परेको बताए ।

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा सञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरु सडकमा गुड्न थालेका छन्। 

अटोमोबाईल व्यवसायीहरु भने लामो समयदेखि ग्यारेजमा थन्किएका सवारी साधन सामान्य मर्मतविना सडकमा निकाल्न नहुने तर्क गर्छन्। अटोमोबाईल व्यवसायी मधुसुधन सिग्देलले मेसिनरी सामानहरु सञ्चालन नगरि थन्क्याएर राख्दा विभिन्न पाटपूर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था चेक गराएर मात्रै बाहिर निकाल्नु पर्ने बताए। विना चेकजाँच नै सवारी साधन सडकमा ल्याउँदा दुर्घटना हुन सक्ने भन्दै उनले सबैलाई आआफ्ना सवारीसाधनको सामान्य चेकजाँच गराउन आग्रह गरे।

उनले लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले बिना चेकजाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्ने खतरा औंल्याए।

Logo