प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन्।
जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयं प्रहरी कार्यालय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानून कार्यान्वयमा संदेह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताएका हुन्। उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरे।
उनले भने, “गाडीमा चढाएर लगे। यो दुर्भाग्य कुरा हो। राम्रो काम होइन। हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हाँस्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ। मन्त्री ज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है। यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ है। यसमा प्रधानमन्त्री स्वयंको पनि ध्यानाकर्षण भएको छ।”
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो। ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए। यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ।





























प्रतिक्रिया