हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेपाली कांग्रेसका तीन नेताले केन्द्रीय सदस्यहरुसँग सामूहिक छलफल गर्ने भएका छन्। १३ औं महाधिवेशनमा सभापतिमा उठेका तीन नेता बाहेकका केन्द्रीय सदस्यलाई बैठकमा बोलाउने गरि तीन नेताले सहकार्य सुरु गरेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच संवाद भएको थियो। निधि र कोइरालाको निवासमा यसअघि छलफल गरेका तीन नेता सिंहको निवासमा छलफलका लागि पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतमा गत बुधाबारबाट नै अन्तिम सुनुवाइ प्रक्रिया जारी छ। जसमा हिजो अर्थात सोमबारबाट रिट निवेदनको विपक्षमा बहस जारी छ। रिट निवेदनका विपक्षमा रहेका ११ सरकारी वकिल मध्ये सोमबार एक जनाले र आज ४ जनाले बहस गरेका छन्। बहसमा पुनः संसद् पुनस्र्थापना भएमा झन् ठूलो समस्या आउने तर्क सरकारी पक्षका महान्याधिवक्ताहरूको छ।
आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस देशभर मनाइएको छ। कोरोना संक्रमणको जोखिमबीच देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो। यसैबीच कृषि तथा पशुपछी विकासमन्त्री बसन्त नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताएका छन्। हालसम्मको तथ्यांक अनुसार यस वर्ष कुल २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको पनि तथ्यांकले देखाएको छ ।
कानूनमन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको स्पष्ट पारेका छन्। संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ल्याउने अधिकार दिएकाले सरकारले जनताको हितका लागि अध्यादेश ल्याएको स्पष्ट पारेका हुन्। यसैबीच कानूनमन्त्री श्रेष्ठले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई लिफ्ट दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्रीले सचेत गराएको पनि जानकारी दिएका छन्।
जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) नकआउट चरणका अन्तिम दुई खेलहरु हुँदैछन्। आज राति इङ्ल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ। आजको पहिलो खेल लण्डनस्थित वेम्बली स्टेडियममा हुँदैछ भने, दोस्रो खेल स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने दोस्रो खेल हुँदैछ।































प्रतिक्रिया